आज महानवमी दुर्गा भवानिको पुजा आराधना गरिदैं, तलेजु भवानी पनि आजै खुल्ने

0

काठमाण्डौं – बडादशैंको नवौं दिन आज घर – घरमा नवदुर्गाको अन्तिम अवतार सिद्विदात्रीको पुजा आराधना गरि महानवमी पर्व मनाईदैं छ ।

पुर्ण निष्ठाका साथ साधना गर्नेहरुमा सिद्विदात्रीको आशीर्वाद प्राप्त हुने जनबिश्वास छ । स्वंय भगवान शिवले उनकै आराधना गरेर सिद्वि प्राप्त गरेको धार्मिक बिश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्घनारिश्वर नामबाट प्रसिद्व भएको जनबिश्वास समेत छ ।

दायाँ तर्फको तल्लो हातमा चक्र, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्विदात्रीको रुपमा चिन्ने गरिन्छ । यसका साथै चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेको दिनका रुपमा पनि महानवमीलाई लिने गरिन्छ । हनुमानढोका दरवारका साथै नेपाली सेनाका ब्यारेकहरुमा बाजागाजा सहित बलि दिएर जंगी निशान र कोत पुजा गर्ने चलन पनि छ ।

घटस्थापना देखि बिजया दशमिसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । नवरात्रको पहिलो दिन शैल पुत्री, दोस्रो दिन ब्रम्हाचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौ दिन महागौरी र नवौं दिन सिद्विदात्रीको पुजा आराधना गर्ने गरिन्छ ।

यो सँगै हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन आज बिहानै लाममा बस्न जाने गर्छन् । आज लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिइन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

यस वर्षको विजया दशमी असोज २१ गते मङ्गलबार परेको छ । सोही दिन बिहान ८ः ४५ बजे देवी विसर्जन गरेपछि १०ः ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ । घटस्थापनमा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.