दलकै नेताले रुचाएनन् नीति तथा कार्यक्रम

0

काठमाडौं, आषाढ २४ । सरकारको वार्षिक नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै नेता सन्तुष्ट देखिएका छैनन् । सत्ता साझेदार दल नेकपा एमालेका नेता भरतमोहन अधिकारीले आफ्नै दल सम्मिलित सरकारले ल्याएको भए पनि नीति तथा कार्यक्रममा आफूले गम्भीर कमजोरी देखेको बताए । सरकारको नीति तथा कार्यक्रममा महाभूकम्पपछिको परिस्थितीलाई उपेक्षा गरिएको उनले बताए । ‘अहिले महाभूकम्पपछिको पीडामा ध्यान हुनुपर्दथ्यो,’ ईमेजखबर डट कमसँग कुरा गर्दै उनले भने, ‘तर सरकारको नीति तथा कार्यक्रम सामान्य अवस्थामा ल्याएजस्तै औपचारिकतामा मात्र सीमित छ ।’ भूकम्प पीडितप्रति मानवीय समवेदनासमेत नीति तथा कार्यक्रममा नपाइएको गुनासो गर्दै उनले भने, ‘स–साना बालबालिकाको बिजोग छ, कयौं बालबालिकाले अभिभावक गुमाएका छन्, विद्यालय जान पाएका छैनन्, उनीहरुको बेवास्ता गरिएको छ ।’
उनले पुनर्निर्माण प्राधिकरणलाई समेत झन्झटिलो बनाइएको बताए । ‘अध्यादेशबाट पुनर्निर्माण प्राधिकरण ल्याउने काम भयो, यसले कुनै काम गर्न सक्दैन ।’ प्रधानमन्त्रीकै नेतृत्वमा प्राधिकरण बनाइए पनि उपप्रधानमन्त्रीलाई सम्पूर्ण जिम्मेवारी दिनुपर्ने उनको भनाई थियो । ‘प्रधानमन्त्री विभिन्न मन्त्रालय चहार्दै हिँड्न मिल्दैन,’ उनले भने, ‘प्राधिकरणको जिम्मेवारी उपप्रधानमन्त्रीलाई दिइएको भए हुन्थ्यो, त्यसको अनुगमनको जिम्मा सभामुखलाई दिएको भए हुन्थ्यो ।’ पुनर्निर्माण प्राधिकरण सरकारकै नेतृत्वमा राखे पनि त्यसलाई स्वायत्त निकाय बनाउनुपर्ने उनको भनाई थियो ।
त्यसैगरी राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सरकारको नीति तथा कार्यक्रममा नयाँ नौलो विषय केही नभएको बताए । उनले भने, ‘पोहोर जे थियो, अहिले पनि त्यही छ ।’ महाभूकम्पपछिको परिस्थितीमा नीति तथा कार्यक्रमले जसरी फड्को मार्नुपर्ने थियो, त्यो रुपमा फड्को मार्न नसकेको उनले बताए ।
उनले नेपाललाई नीति तथा कार्यक्रममार्फत लाहुरेको देश बनाउन खोजिएको प्रष्ट पारे । ‘नेपालले खाद्यान्नसमेत आयात गर्नुपर्ने भएको छ, कृषिलाई आयातमुखी बनाउने प्रयास भएको छ,’ उनले भने, ‘युवाहरुलाई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्नु त कता हो कता, विदेश पठाउनकै लागि सरकार केन्द्रीत भएको देखिन्छ ।’ उनले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोजिएकोमा समेत निन्दा गरे ।

Leave A Reply

Your email address will not be published.