नौबिसे – नागढुंगा सडक मर्मत गर्न १० मिनेट सवारी रोक्दा तीन किलोमिटरसम्म जाम

0

त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुंगा सडकखण्ड मर्मतसम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडकखण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्दछ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडकखण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताउँछन् । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ । १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउँछन् । सो क्षेत्रमा ६ देखि ७ मिटर मात्र सडक चौडा रहेको छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।

सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारी बताउँछन् । दोस्रो बोलपत्रको तयारी भइरहेको छ । काम गर्न नसक्ने भएपछि ठेकेदार कम्पनीहरुले मुग्लिनदेखि पिप्लामोडसम्म नै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उहाँको भनाइ छ ।

यस वर्षको दशैँअघि मालबाहक सवारीका कारण धसिएको क्षेत्र मर्मत गर्न थालेको भए पनि काम गर्न नसकिएको सो क्षेत्र हेर्दै आएका इन्जिनियर हरिकुमार ठकुरी बताउँछन् । साउन र भदौ महिनाका अधिकांश समय पानी परेका कारण असोजको पहिलो साता ती खाल्डा पुर्न शुरु गरिएको भए पनि सवारी चापका कारण काम सक्न नसकिएको ठकुरी बताउँछन् ।

यही असोज ५, ६ र ७ गते दैनिक एक घन्टा मात्रै एकतर्फी सवारी रोकेर खाल्डा परेका ठाउँमा कालोपत्रे गरिएकामा सवारी चाप बढेपछि रोकिएको छ । प्रमुख अधिकारीले भने, ‘असोज ७ गते बेलुकाबाट हामीले सवारी रोकेर काम गरेका छैनौँ । सवारी चापकै कारण सडकमा समस्या देखिएको हो ।’ रातको समयमा पनि सवारी चापकै कारण काम गर्न सकिएको छैन । सो सडक खण्डको चितवनले हेर्ने क्षेत्रको ८० प्रतिशत मर्मतसम्भारको काम सकिएको उनको भनाइ छ । गणेश मन्दिर आसपासको क्षेत्र मात्र बाँकी रहेको छ ।

दशैँको नवमी र टीकाका दिन सवारी चाप घट्ने भएकाले काम गर्ने मानिस भेटिएमा सोही दिन केहीबेर एकतर्फी सवारी रोकेर काम गर्ने तयारी सडक कार्यालयले गरेको छ । ठेक्का कसैको पनि नपरेपछि सोही सडकखण्डमा रणनीतिक सडक मर्मतअन्तर्गत भित्तामा काम गर्दै आएको जीएमआर कन्स्ट्रक्कनको सहयोग लिएर मर्मतको काम भइरहेको छ । सडकमा सवारी नरोकेर नै खाल्डा परेका ठाउँमा भर्ने काम भने अहिले पनि भइरहेको छ ।

दशैँका बेला सडक नरोकियोस् भन्नका लागि भरतपुर, नौबिसे, गल्छी, गजुरी र फिस्लिङमा लोडर तयारी अवस्थामा राखिएको छ । भरतपुर र गल्छीमा पहिरो पन्छाउने व्याक हुनसमेत राखिएको कार्यालयले जनाएको छ । सो सडकखण्डमा ट्राफिक प्रहरीले पनि लोडर र क्रेन तयारी अवस्थामा राखेको छ । यही सडकखण्ड मर्मतका लागि सीतापाइला धार्के सडक सञ्चालन गर्नुपर्ने विज्ञ इन्जिनियरहरू बताउँछन् । अन्यथा काम गर्न निकै कठिन हुने उनीहरूको भनाइ छ ।

सडकका कारण मात्र नभएर सवारीको उच्च चाप, ठूला साना सवारी एकै साथ गुड्ने, दशैँका बेला क्षमताभन्दा बढी सामान बोकेर जाँदा उकालोमा बिग्रने, चालकले जथाभावी उछिन्ने जस्ता कारण सवारी आवागमनमा समस्या भएको देखिन्छ । प्रमुख अधिकारी काम गर्दासमेत जस नपाउने हुँदा आफूहरू खिन्न हुने गरेको बताउँछन् । उनले दुःखेसो गरे, ‘एकोहोरो गाली खानु परेको पीडा छ । आज तपाईंको मिडियामा यति दुःख बिसाउन पाइयो ।’ सबै दोष सडकलाई थुपार्ने र यथार्थ परिस्थिति कसैले नबुझेका कारण काम गर्न कठिन भएको इन्जिनियर ठकुरीले गुनासो गरे ।

रासस

Leave A Reply

Your email address will not be published.