कृषि विकास बैंकबाट चोरिएको चाहिँ कति ? अनलाइनहरुको आ-आफ्नै दावी

0

काठमाण्डौं कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रकम निकालिएको छ ।  समाचारले एक्कासी सनसनी मच्चाएसँगै मुलधारका अनलाइन न्यूज पोर्टलहरुले समेत आ आफ्नै स्रोतको हवाला दिंदै चोरी भएको रकम उल्लेख गरेका छन्। अनलाइनमा आएको समाचारहरुले सर्वसाधारणमा एउटा जिज्ञासा पैदा भएको छ- ‘चोरी भएको रकम चाहिँ कति ?’ रकम मात्रै होइन पक्राउ परेका व्यक्तिको संख्या समेत फरक फरक छन् ।

कसले के लेखे ?

अनलाइन खबरको यो समाचार हेर्नुहोस् जसमा एक करोड ५६ लाख रुपैयाँ निकालिएको उल्लेख छ।  उसले राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला र कार्यकारी निर्देशक बमबहादुर मिश्रलाई उल्लेख गर्दै  हृयाकरहरुले ब्यालेन्स सीट नै तल-माथि बनाएर रकम निकालेको भनेको छ । समाचारमा घटनामा संलग्न ११ जनालाई विभिन्न ठाउँहरुबाट पक्राउ गरेको उल्लेख छ ।

अब हेर्नुहोस यो रातोपाटीको समाचार जसमा बैंकबाट डेढ करोड रुपैया चोरी भएको उल्लेख छ।  यो अनलाइनले पनि बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाकै भनाइ अनुसार  १ करोड ५६ लाख निकालिएको जनाएको  छ।

यो चाहिँ खबरहवको समाचार जसमा २ करोड रुपैयाँ रकम निकालिएको उल्लेख छ।   यो अनलाइनले   प्रहरी परिसर रानीपोखरीका प्रवक्ता एसएसपी श्माम ज्ञवालीको भनाइ उल्लेख गर्दै लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरेको जनाएको छ।

यो चाहिँ थाहा खबरको समाचार जसमा ४ करोड रकम निकालिएको उल्लेख छ। ‘बै‌कले साढे २ करोड ह्याक भईसकेकाे पुष्टि गरेको छ। चार कराेड रकम चाेरी भएकाे कृषि विकास बैंक स्रोतले जनाएकाे छ।’ अनलाइनले लेखेको छ। बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम  लुट्न लाग्दा ३ जनालाई नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ।

अब यो हेरौं कान्तिपुर अनलाइनको समाचार।  यसमा ३ करोड भन्दा बढी रकम निकालिएको र ९ जना पक्राउ गरिएको उल्लेख छ। ‘एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए।’ समाचारमा भनिएको छ।

यो चाहिँ नागरिक अनलाइनको समाचार जसमा  करिब ५३ लाख रुपैयाँ रकम टान्सफर गरी एटिएमबाट निकालेको र १० जना पक्राउ परेको उल्लेख छ।  नागरिकले भने पक्राउ पर्नेहरुको नाम समेत सार्वजनिक गरेको छ।  जसमा काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ रहेका छन् ।

पहिलोपोस्ट अनलाइनले भने ३ करोड व्यक्तिको खातामा ट्रान्सफर गरिएको र ५ जना पक्राउ गरेको भन्दै समाचार लेखेको छ। ‘बैंकबाट करिब ३ करोड रुपैयाँ विभिन्न व्यक्तिको नाममा ट्रान्सफर भएको छ। खातामा रकम ट्रान्सफर गरेर झिक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।’ समाचारमा भनिएको छ।

शिलापत्र अनलाइनले भने ५३ लाख रुपैया मात्रै लुटेको र १० जना पक्राउ परेको उल्लेख छ।  ‘कृषि विकास बैंकको विभिन्न शाखा मार्फत ट्रान्सफर गरेर केन्द्रीय शाखाबाट सो रकम निकालेको देखिएको प्रहरीको उच्च स्रोतको दाबी छ ।’ समाचारमा भनिएको छ ।   यो अनलाइनले पक्राउ परेका १० जनाबाट ३१ लाख रूपैयाँ बरामद भएको उल्लेख गरेको छ।

सेतोपाटीले भने डेढ करोड करोड रुपैयाँ लुटिएको समाचार लेखेको छ।  ‘ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखाबाट एक करोड ४९ लाख रुपैयाँ ह्याक गरी लुटेको छ।’ समाचारको पहिलो वाक्यमा लेखिएको छ।  ‘सिरहा प्रहरी स्रोतका अनुसार असोज ५ गते सो रकम सिरहा शाखाबाट केन्द्रीय बैंक हुँदै गिरोहले लुटेको देखिएको छ। सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।’ समाचारमा भनिएको छ।

देशसंचारले  पानस रेमिट ह्याकिङ गरेर ३१ लाख रुपैयाँ झिकिएको प्रहरीको दाबी भन्दै समाचार सम्प्रेषण गरेको छ । बाह्रखरी अनलाइनले सिस्टम ह्याक गरेर कृषि विकास बैंकको डेढ करोड लुटिएको र  ३१ लाखसहित १० जना पक्राउ परेको समाचार लेखेको छ ।

त्यस्तै सगरमाथा टिभी अनलाइनले २ करोड रुपैया चोरी भएको भन्दै समाचार लेखेको छ।  आर्थिक न्यूजले ३ करोड चोरी भएको जनाएको छ भने न्यूज २४ ले  करिब ४ कराेडभन्दा बढी रकम चाेरी भएकाे र साढे २ करोड रकम ह्याकरकाे खातामा गइसकेकाे जनाइएकाे छ ।

अन्य समाचार साइट मात्रै होइन आर्थिक समाचार साइटहरुले पनि उस्तै गरी समाचार सम्प्रेषण गरेका छन् ।  बिजपाटी अनलाइनले डेढ करोड चोरी भएको समाचार लेखेको छ। प्रतिखाता दश लाख रुपैयाँभन्दा धेरै रकम निकाल्न नमिल्ने भएकाले ४ करोडभन्दा धेरै रकम ट्रान्सफर गरेको भएपनि दुई करोडभन्दा कम रकम मात्र निकालेको पाइएको भन्दै मेरो लगानीले समाचार लेखेको छ।  बिज्मांडूले ४ करोड रुपैयाँ आफ्नो खातामा सारेर २ करोड रुपैयाँ झिकिएको जनाएको छ।  त्यस्तै बिजशाला अनलाइनले ३ करोड चोरी भएको समाचार लेखेको छ ।

किन फरक फरक समाचार ?

बुधबार बिहान एक्कासी यो समाचार बाहिरिएपछि अनलाइनहरुले प्रहरी र राष्ट्र बैंकका विभिन्न व्यक्तिलाई स्रोत मान्दै समाचार प्रकाशन गरे। नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले अहिलेसम्म एक करोड ५६ लाख रुपैयाँ निकालिएको पुष्टि भए पनि अरु अनुसन्धानको क्रममा रहेको जानकारी दिए।  उनले आफूलाई सम्पर्क गर्ने सबै संचारकर्मीलाई यही तथ्यांक नै उपलब्ध गरेको जानकारी दिए । पक्राउ परेकाहरुलाई आज दिउँसो २ बजे सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

Leave A Reply

Your email address will not be published.