प्रचण्डको भारत भ्रमण

0

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल एमाओवादीले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन भारत सरकारको सकारात्मक भूमिकाको खोजी गर्न अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएको छ । असार २९ देखि साउन २ गतेसम्म हुन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराउन दाहालले सोमबार आफ्नै निवास लाजिम्पाटमा शीर्ष नेतालाई बोलाएका थिए । सोही क्रममा नेताहरूले त्यस्तो सुझाव दिएका हुन् । अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमेत रहेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘शान्ति र संविधान निर्माणप्रक्रिया समापनका क्रममा छ । त्यसका लागि १६ बुँदे सहमति भएको छ।
त्यसमा छिमेकीहरूबाट विघ्नबाधा नआओस्। हामी छिमेकीबाट सकारात्मक शुभेच्छा चाहन्छौं, हस्तक्षेप होइन।’ प्रमुख चार दलबीच जेठ २५ गते भएको १६ बुँदे सहमतिपछि भारत मौन रहँदै आएको छ। एमाओवादी नेताबीच दाहालको भारत भ्रमण तयारीका साथ गर्नुपर्नेमा छलफल भएको थियो।
‘सद्‌भावना भ्रमणका लागि भारत सरकारले निमन्त्रणा गरेको रहेछ । कुनकुन क्षेत्रमा छलफल गर्ने भनेर हामीले सामान्य कुराकानी गर्‍यौं’, श्रेष्ठले भने।एमाओवादीले लिपुलेकका बारेमा सच्याउन नेपाल, भारत र चीन सरकारलाई छुट्टाछुट्टै ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ। श्रेष्ठका अनुसार प्रधानमन्त्री सुशील कोइराला र भारत तथा चीनका दूतावासमा ज्ञापनपत्र बुझाएर लिपुलेकका बारेमा ‘त्रुटि’ सच्याउन आग्रह गर्न लागिएको छ।

भौगोलिक सीमांकनमा ध्यानाकर्षण गराउने
कांग्रेस-एमालेभित्रैबाट भौगोलिक सीमांकनबिना संविधान जारी नगर्न दबाब आउन थालेपछि एमाओवादीले पनि ती दुवै पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। ‘कांग्रेस-एमालेकै कारण सीमांकनबिनाको संविधानको मस्यौदा बनाउनु परिस्थितिको बाध्यता थियो। भौगोलिक सीमांकन गरेर संविधान निर्माणप्रक्रियालाई अगाडि बढाउनु राम्रो हुन्छ भनेर कांग्रेस-एमालेका नेताहरूसँग एकपटक फेरि छलफल गर्ने निर्णय गरेका छौं’, श्रेष्ठले भने। बैठकमा नेता बाबुराम भट्टराईले आफू पक्षधर नेता-कार्यकर्ताको छुट्टै भेला बोलाएको बारेमा पनि नेताहरूबीच छलफल भएको छ।
‘त्यसबारेमा पनि सामान्य कुराकानी भयो’, श्रेष्ठले भने। भट्टराई पक्षको समानान्तर काठमाडौं जिल्ला समितिले शनिबार उपत्यकास्तरीय भेला प्रशिक्षण आयोजना गरेको थियो। प्रशिक्षणका बारेमा पार्टीभित्र तीव्र विवाद भइरहेको छ। बैठकले असार २६ गते हुने भोजपुरा र मिथिला राज्यको राजनीतिक प्रशिक्षणमा दाहाल, भट्टराई र श्रेष्ठ सहभागी हुने निर्णय गरेको छ।
– अन्नपूर्ण पोष्टबाट

Leave A Reply

Your email address will not be published.