६ हार र दुई बराबरीको क्रम तोडियो
काठमाण्डौं – सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालले एक वर्षपछि पहिलो जित हात पारेको छ । विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० गोलले हरायो ।
नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अन्तिमपटक हात पारेको जित सन् २०१८ को सेप्टेम्बरमा बंगलादेशमाथी थियो जुन खेल नेपालले २-० गोलले जितेको थियो साफ च्याम्पियनसिपअन्तर्गत। यसबीचमा नेपालले ६ हार र दुई बराबरीको नतिजा निकालेको थियो ।
यसबीचमा खेलेका अन्तर्राष्ट्रिय खेलमा नेपालले एक गोलमात्र गरेको थियो, मैत्रिपूर्ण खेलमा चाइनिज ताइपेईविरुद्ध । गत जुनमा भएको उक्त मैत्रिपुर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
मंगलबार चाइनिज ताइपेईको मैदानमा भएको खेलमा नेपालका अन्जन विष्टले दुवै गोल गरे । सन् २०१४ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका अन्जनले उत्कृष्ट प्रदर्शन गरे । सिनियर राष्ट्रिय जर्सीमा अन्जनको तीन गोल पुगेको छ ।
तेस्रो मिनेटमा अन्जनले नेपाललाई अग्रता दिलाएका थिए । ६२ औँ मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर बनाएको थियो । पहिलो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ७-० गोलले पराजित भएको थियो ।
पाँच टोली रहेको समूह ‘बी’ मा नेपाल, कुवेत, चाइनिज ताइपेई र अस्ट्रेलिया छन् । होम एन्ड अवे आधारमा खेलेपछि समूहको शीर्ष दुई टोली विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणमा पुग्नेछन् । नेपालले तेस्रो खेल १० अक्टोबरमा अस्ट्रेलियासँग उसको मैदानमा खेल्ने छ ।