सरकारले कानूनी शासन मास्न थालेपछि कांग्रेस जागरण अभियानमा हामफालेको हो : डा. संग्रौला

0

काठमाण्डौं – दुईतिहाईको सरकारले विधि र कानूनको शासन मास्न नछाडेपछि नेपाली कांग्रेस नागरिकलाई सामाजिक न्याय र अधिकार दिलाउन जागरण अभियानमा हामफालेको विचार सांसद डा. डिला संग्रौलाले राखेकी छन् ।

१०६औं बीपी जयन्तीमा डा. संग्रौलाले मोरङको सदरमुकाम विराटनगरमा ११ नगर वडा समितिले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै सो विचार राखेकी हुन् । वृक्षारोपण गरेर उनले विराटनगरबाट जागरण अभियान थालेकी हुन् ।

सरकारले विधिको शासन र कानूनीराजलाई मेटाउँदै लगेको र नागरिकलाई अधिकार र सामाजिक न्याय दिन असफल भएको बताइन् । जनताले धेरै आशा गरेको सरकारले अन्याय, भ्रष्टचार र काण्डबाहेक केही दिन नसकेको भन्दै अब नेपाली कांग्रेसले जनतालाई पूर्णअधिकार र न्याय दिने विषयलाई सशक्तरुपमा अगाडि बढाएर पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा बीपी कोइरालाको तस्बीरमा माल्यार्पण गरेकी थिइन् । बीपीले अगाडि सारेका समाजवादी व्यवस्थालाई अब नेपाली कांग्रेसले पूरा गरिछाड्ने बताउँदै यसनिम्ति सम्पूर्ण जनताले साथ दिन अपिल गरेकी छन् ।

‘जनतालाई सामाजिक न्याय र अधिकार दिनकै लागि नेपाली कांग्रेस जागरण कार्यक्रमसहित मैदानमा आएको छ । यसमा तपाईहरुले साथ दिनुस् हामी पूरा गर्छौं’ सांसद डा. संग्रौलाले भनिन्, ‘सिंहदरबारको राम्रो कामलाई गाउँसम्म पुर्याएर आर्थिक क्रान्ति सम्पन्न गर्ने काम कांग्रेसले गर्छ ।’

नेपाली कांग्रेसले मंगलबारबाट देशैभर जागरण अभियान कार्यक्रम औपचारिक रुपमा शुरु गरेको छ । सो अवसरमा कांग्रेसका केन्द्रीय सबै नेताहरु देशका विभिन्न भागमा पुगेर विभिन्न कार्यक्रममाझ् जागरण अभियान उद्घाटन गरेका छन् ।

Leave A Reply

Your email address will not be published.