तालिबान अमेरिका वार्ता: तालिबानसँगको सहमति ट्रम्पद्वारा रद्द

0

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता नहुने

एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मा तालिबानले लिएपछि वार्ता तथा भएको सहमति रद्द गरेको ट्रम्पले जनाएका छन् । सो आक्रमणमा एक अमेरिकी सैनिकको निधन भएको थियो ।

तालिबानसँगको वार्तामा अमेरिकाको तर्फबाट नेतृत्व गरेका अफगानमूलका अमेरिकी कूटनीतिज्ञ जल्मय खलिलजादले गएको सोमबार टेलिभिजन अन्तर्वार्ताको क्रममा सहमतिबारे बताएका थिए । सो सहमतिमा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अन्तिम स्वीकृति मिल्न बाँकी थियो, त्यसकै लागि आइतबार तालिबानका नेतासँग उनको भेट हुने तयारी थियो । तर सो भेटअघि नै ट्रम्पले सहमति रद्द गरेका हुन् ।

रद्द भइसकेको सहमति अनुसार अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट आफ्ना ५४ सय सैनिक फिर्ता लैजाने थियो । खलिलजादले सहमतिबारे टेलिभिजन अन्तर्वार्तामा जानकारी दिइरहेका बेला अफगानिस्तानमा ठूलो बिस्फोट भएको थियो ।

खाडी देश कतारमा नौ चरणमा भएको वार्तामा अमेरिका र तालिबान सहमतिमा पुगेको खलिलजादले टोलो न्युजलाई दिएको अन्तर्वार्तामा बताएका थिए । अमेरिकाले सेना फिर्ता लैजाने तथा तालिबानले अमेरिकी तथा उसका सहयोगीमाथि आक्रमण नगर्ने सहमति बनेको थियो । तालिबानले पनि खलिलजादले भनेको सहमति सत्य रहेको पुष्टि थियो । हाल अफगानिस्तानमा झण्डै १४ हजार अमेरिकी सेना छन् ।

तालिबानले सन् २००१ यता अफगानिस्तानका सबैभन्दा बढी क्षेत्रमा नियन्त्रण कायम गरेको छ र अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । अफगान सरकार अमेरिकाको कठपुतली रहेको उसको आरोप छ । अमेरिकाले सन् २००१ देखि नै अफगानिस्तानमा आफ्नो सैन्य गतिविधि गर्दै आएको छ ।

तर गएको बिहीबार काबुलमा भएको कार बम आक्रमणपछि अवस्था फेरिएको हो । एक अमेरिकी सैनिकसहित १२ जनाको ज्यान जाने गरी भएको सो आक्रमणको जिम्मा तालिबानले लिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति वार्ताबाट भएको सहमति रद्द गरेका हुन् ।

काबुलमा भएको आक्रमणमा अमेरिका नेतृत्वमो नेटो सेनामा रहेका रोमानियन सैनिकको पनि निधन भएको थियो । यी आक्रमणले अमेरिकाले शान्ति वार्ता र सहमति गरे पनि अफगानिस्तानमा दैनिक रुपमा हुने हिंसा रोकिने छैनन् भन्ने देखिएको भन्दै विश्लेषकले चिन्ता जताएका थिए । सहमति रद्द भएसँगै अमेरिकी सेनाको फिर्ती तत्कालका लागि रोकिएको छ ।

Leave A Reply

Your email address will not be published.