कुन नेता जाँदैनन् भारतीय दुतावास : अमरेशकुमार

0

काठमाडौं, २१ आषाढ । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले भारतीय दुतावास गएकै आधारमा आफूमाथि कारवाही गर्न चुनौती दिएका छन् । सभासद सिंह केही मधेसवादी दलका नेताहरुका साथ शुक्रबार भारतीय दुतावास गइ संविधानको प्रस्तावित मस्यौदाका बारेमा भारतीय राजदुत समक्ष असन्तुष्टि व्यक्त गरेको भन्दै कांग्रेसकै सभासदहरुले उनीमाथि कारवाहीको माग गरिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।
इमेज न्यूज एफएमसँग सोमबार बिहान कुरा गर्दै सभासद सिंहले प्रश्न गरे– ‘भारतीय दुतावास कुन नेता जाँदैनन् ?’ उनले आफू मधेस आन्दोलनपछि भएको ८ बुँदे सम्झौताको एक साक्षीसमेत भएको जिकिर गर्दै प्रमुख दलहरुले उक्त सहमति उल्लंघन गरेका कारण आफू सम्झौताका पक्षधर मधेसवादी दलका साथ भारतीय दुतावास गएको बताए ।
‘मेरो अगाडी मलाई कारवाही गर्नुपर्छ भनेर कसैले भनेको छैन,’ उनले भने, ‘कारवाही गर्नुपर्छ भन्ने कसैको चाहना होला तर कारवाही भएमा के गर्ने भन्नेबारे म त्यतिबेलै निर्णय गर्छु ।’ आफू मधेसी जनताको समानता र अधिकारका लागि आफू भारतीय दुतावासमा छलफलका लागि गएको उनले प्रष्ट पारे ।
‘भारतीय दुतावासले कसरी मधेसी जनताको समानता र अधिकार स्थापित गर्न सक्छ ?’ जवाफमा उनी भन्छन्, ‘मधेसवादी दलसँग भएको ८ बुँदे सम्झौतामा भारतीय दुतावासको समेत महत्वपूर्ण भूमिका भएका कारण सो सहमति उल्लघंन गरिएकोबारे दुतावासको ध्यानाकर्षण गराउनु सम्झौताका पक्षधरहरुको कर्तब्य हो ।’
उनले चार दलका शीर्ष नेताहरुले मनोमानी गर्दै आएको आरोपसमेत लगाए । ‘समितिमा भएका साथीहरुसँग छलफल नै नगरी निर्णयमा पुग्ने काम भएको छ,’ उनले भने, ‘प्रक्रियागत रुपमा निर्णय गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।’ यही मस्यौदा अनुसार संविधान निर्माण हुने हो भने त्यसले देशलाई निकास दिन नसक्ने सिंहले दाबी गरे ।
उनले भने, ‘सर्वोच्च अदालतको आदेशलाई अटेर गर्दै चार दलले संविधान ल्याउने हो भने उनीहरुले ल्याएको संविधान अरुले मान्नुपर्छ भन्ने पनि छैन ।’
आफू भारतीय दुतावास गएको विषयलाई अनावश्यक प्रचार गरिएको उनको भनाई छ । उनी भन्छन्, ‘राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका नेताहरु दिल्ली गएर १२ बुँदे समझदारी गर्दा कसैलाई टाउको दुखेन, मधेस आन्दोलनपछि मेरोसमेत उपस्थितीमा भारतीय दुतावासकै पहलमा ८ बुँदे सहमति हुँदा सबैलाई ठिकै थियो, अहिले सहमति पालना भएन भनेर ध्यानाकर्षण गराउन जाँदा किन आपत्ति ?’
उनले नेपाली मिडियाको भूमिकामा पनि प्रश्न उठाए । ‘नेपाली मिडिया एकपक्षीय छन्, मधेसका समाचारलाई महत्व दिन चाहँदैनन्, मधेसका समाचार ल्याए पनि पूर्वाग्रही भएर ल्याउने गर्दछन् ।’

Leave A Reply

Your email address will not be published.