बैंकको सिस्टम ह्याकबारे केहीबेरमा प्रहरीको पत्रकार सम्मेलन

0

काठमाण्डौं – एटीएम बैंकिङ सेवा प्रणाली ह्याक गर्नामा चिनियाँ ह्याकरको हात रहेको खुल्दै गएको छ । यसबारे प्रहरीले केहीबेरमा राजधानीमा एक पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिरहेको जनाइएको छ ।

चिनियाँ ह्याकरहरुले अनाधिकृत रुपमा एटिएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आउन शुरु गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रभु बैंक र एनआईसी एशिया बैंकको एटीएम सेवाबाहेक सबै बैंकको सेवा सूचारु भएको जनाएको छ ।

ह्याकरहरुले एटीएमबाट पैसा चोरेको सूचना पाएपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । प्रभु बैंक र एनआईसी एशियाको सेवा पूर्ववत् अवस्थामा आउन केही समय लाग्ने राष्ट्र बैंकले जनाएको छ ।
एटीएम सेवा सूचारु भएपनि अन्तर बैंक एटिएम कारोबार तत्कालको लागि बन्द भएको बैंकहरुले बताएका छन् ।

एटिएमबाट पैसा निकाल्न नपाएपछि अधिकांश स्थानको एटीएमबाट सेवा लिनेको भीड नै लागेको छ । महानगरीय प्रहरी काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले मध्यरातमा नबिल बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पाँचजना चिनियाँ नागरिकहरुलाई रंगेहात पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । नामगोप्य राखिएका निजहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.