पत्रकार हमाललाई सर्वोच्च ल्याइयो, इन्चार्ज वाग्लेलाई अदालत उपस्थित गराउन आदेश

0

काठमाण्डौं – जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसमा उपस्थित गराउन पोखरा प्र्रहरीले सर्वोच्च अदालतमा ल्याइपुर्याएको छ ।

प्रहरीले बिनाकारण गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै तुरुन्त थुनामुक्त गर्न मागसहित आइतबार बन्दप्रत्यक्षीकरण रिट दर्ता भएको थियो । सोही निवेदनमा सोमबार सर्वोच्च अदालतले बन्दीलाई गिरफ्तारको गर्नुको लिखित कारणसहित ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको थियो ।

शुक्रबार बहसको समय नपुग्ने भएपछि पत्रकार हमाललाई महानगरीय प्रहरी काठमाडौं परिसर टेकुमा लैजाने भएको छ । बहस अब आइतबार मात्र हुने भएको छ । उनलाई स्थलमार्ग हुँदै शुक्रबार दिउँसो १ बजेतिर सर्वोच्च ल्याइपुर्याएको हो । उनीविरुद्ध राजद्रोहको अभियोग लगाइएको छ । रिटमा कास्की प्रहरी, गृहमन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।

पत्रकार हमाललाई भदौ ६ गते शुक्रबार पोखराको शिसुवा बजारबाट कास्की प्रहरीले गिरफ्तार गरेको थियो । हमाल लामो समयदेखि निरन्तर रुपमा भ्रस्टचार, अन्याय र बेथितिविरुद्ध सशक्त कलम चलाउदै आएका पत्रकारको रुपमा परिचित छन् । उनी जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी–धौलागिरी क्षेत्रीय संयोजक हुन् ।

ईन्चार्ज रुपेशलाई अदालत पेश गर्न सर्वोच्चद्वारा आदेश

यसैबीच विप्लव नेकपाका कास्की जिल्ला ईन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’लाई गिरफ्तार गर्नुको लिखित कारणसहित अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

वाग्लेलाई प्रहरीले बिनाकारण गिरफ्तार गैरन्यायिक रुपमा हिरासतमा राखेको भन्दै रामप्रसाद वाग्लेले बिहिबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । सोही रिट निवेदनमाथि शुक्रबार ३ नं. इजलासमा भएको बहसमापछि न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले उक्त आदेश दिएको हो ।

वाग्लेलाई यही भदौ ६ गते पोखराबाट गिरफ्तार गरिएको थियो । उनलाई राजद्रोहको अभियोगमा कास्की प्रहरीको हिरासतमा राख्दै आएको छ । वाग्लेविरुद्ध राजद्रोहको अभियोग छ । गृह मन्त्रालय, कास्की प्रहरीलगायतलाई रिट निवेदनमा विपक्षी बनाइएकोछ ।

Leave A Reply

Your email address will not be published.