गौरा पर्वको मुख्य दिन आज, सुदूरपश्चिमभरी उल्लास

0

काठमाण्डौं – यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन (आज) मनाइँदैछ । आज गौरा पर्वको मुख्य दिन हो । भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका दिन गौरा पर्व मनाइन्छ ।

यसवर्ष भाद्र शुक्ल अष्टमीको अघिल्लो दिन अगस्ति तारा उदय हुने भएकाले भाद्र कृष्णअष्टमीकै दिन पर्व मनाउने निर्णय गरिएको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

समितिले स्वीकृत गरेका पात्रो (पञ्चाङ्ग) मा भाद्र कृष्णअष्टमी अर्थात् भदौ ६ गते नै गौरा पर्व मनाउनुपर्ने उल्लेख गरिएको छ । अन्य प्रदेशमा महिलाले तीज मनाए जस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँमा पार्वतीको पूजाआजा गरी गौरा पर्व मनाइन्छ । यस दिन दुबोको समेत विशेष पूजाआजा हुन्छ । यसैले यस दिनलाई दुर्वाष्टमी पनि भनिन्छ ।

सुदूरपश्चिम प्रदेशका गौरा घर र मन्दिरमा बिहीबार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ। व्रत बसेका महिलाको समूहले धान, साउँ, कुस, अपामार्गलगायत बोटबिरुवा प्रयोग गरी गौरादेवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन्।

घर नजिकको खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै यो प्रतिमा तयार पार्ने गरिन्छ। प्रदेश सरकारले भदौ ६ गते प्रदेशमा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ। गौरा भित्र्याइसकेपछि व्रतालु महिलाले सामूहिक रुपमा गौरी भगवती र महेश्वर (शिव) भगवानको पूजा अर्चना गर्ने गर्दछन्।

पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरीका गोडागुडी)को विशेष महत्व छ। ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ। पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन छ।

बिरुडा खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ। भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ। बिरुडा भिजाएको दिनदेखि नै औपचारिक रुपमा गौरा पर्व शुरु भएको मानिन्छ।

पूजाको काम सकिएपछि हरेक दिन महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भइ चैत, धमारी, देउडा खेलेर रमाइलो गरिन्छ। पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकोले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ।

गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको भनाइ छ। यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने तथा इष्टकूल देवता खुशी हुने विश्वास गरिन्छ।

Leave A Reply

Your email address will not be published.