नेकपा सचिवालय बैठक बस्दै, स्कुल विभाग प्रमुखको जिम्मेवारी कसलाई ?

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार (आज) बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने तय भएपनि तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो ।

बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्कुल विभाग प्रमुखलगायत विभागको प्रमुखको जिम्मेवारी तोक्ने विषयमा छलफल हुने नेकपाले जनाएको छ ।

यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्य्िवभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्य विभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

नेकपामा स्कूल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको जिकिर भएको कुरा बाहिर आएको थियो ।

अन्य विभागको टुंगाे लागेपनि स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । अहिलेसम्म प्रदेश कमिटी, र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्य विभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ ।

यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.