प्रचण्डको विषयमा नेकपाका दुई नेताबीच ‘फेसबुक वार’

0

काठमाण्डौं – पछिल्लो केही दिनयता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिहरु संचारमाध्यममा ‘हटकेक’ बनिरहेका छन्। गत साउन १९ गते रामेछापको खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटन गर्दै प्रचण्डले भनेका थिए, ‘राजा महाराजाहरु फेरि सलवलाउन थालेका छन्’, धेरै सक्रियता देखाए पूर्वराजा ज्ञानेन्द्रले नसोचेको परिणाम भोग्नुपर्छ।’

प्रचण्डले हिजो शनिबार पनि एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका थिए।  उनले पूर्वराजा ज्ञानेन्द्रलाई नै इंगित गर्दै “जनतामा राजनीतिक सामाजिक जागरण सहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याईने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।”

यतिबेला चर्चामा छ उनले गत शुक्रबार दिएको अभिव्यक्ति । उनले दिनानाथ शर्माद्धारा लिखित ‘झरीको सौन्दर्य’ नामक निबन्ध संग्रहको बिमोचन गर्दै उनले आफूलाई हिस्रक मान्छेको रुपमा चित्रण गर्ने गरेको भन्दै असन्तुष्टि जनाए । उनले भनेका थिए, ‘म त्यस्तो बिद्रोही नेता हुँ, जसले कसैलाई एक लपेटो हानेको पनि छैन् कसैको एक लपेटो खाएको पनि छैन,’  तर मेरो हिंसात्मक गतिविधिमा कुनै संलग्नता रहेन भन्दा मान्छेहरुलाई पत्याउन गाह्रो भईरहेको छ ।’

प्रचण्डको यो अभिव्यक्ति अहिले सामाजिक संजालहरुमा बादबिबाद भैरहेका छन् । जनयुद्धको नेतृत्व गरेका प्रचण्डले  हिंसात्मक गतिविधिमा संलग्नता नरहेको बताएपछि बादबिबाद शुरु भएको हो । अर्कोतिर उनले अहिलेसम्म कसैको पनि लपेटो नखाएको बताइरहंदा एक कार्यक्रममा पदम कुँवरले उनीमाथि प्रहार गरेको झापडको भिडियो भाइरल भैरहेका छन्।

बादबिबाद सर्वसाधारण र बिपक्षीहरुमा मात्रै सिमित छैन।  नेकपाकै केन्द्रिय नेताहरुबिच समेत यो बिषयमा बादबिबाद भैरहेको छ।  त्यो पनि फेसबुकमै।

नेकपाका केन्द्रीय समिति सदस्य सूर्य थापा र नेकपाका युवासंगठनका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’बिच ‘फेसबुक वार चलेको हो । थापाले लेखेका छन्, ‘आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो ! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।


म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै ! मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ ।


हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ ?  विगतसॅग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि !”
आजको क्रान्तिकारी तरंग र मनोदशा !’

थापाले व्यंग्यात्मक शैलीमा प्रचण्डलाई भित्तैमा पुग्ने गरि स्टाटस लेखेपछि अर्का केन्द्रिय समिति सदस्य तथा नेकपाका युवासंगठनका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि जवाफ फर्काएका छन्।  उनले केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण सह्य नहुने बताएका छन् । ‘अनुशासन, आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ,’ दीपशिखाले भनेका छन्, ‘हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो ।’

दीपशिखाको टिप्पणी पढेपछि नेता थापाले फेरि अर्को स्टाटस लेखेर फेसबुकबाटै जवाफ दिएका छन् ।  उनले लेखेका छन्, ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हास्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा !’

Leave A Reply

Your email address will not be published.