यो वर्ष साढे ३ हजार नेपालीलाई डिभी पर्‍यो

0

काठमाण्डौं – सन् २०२० को अमेरिकाको डिभी चिट्ठा पर्नेमा नेपाल पाँचौं भएको छ । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) को भिसा बुलेटिन अगस्ट अंक अनुसार नेपालका ३ हजार ६ सय ९६ लाई डिभी परेको छ। उनीहरू पहिलो पत्र पाउने छन् । छान्ने प्रक्रियाका सबै मापदण्ड पूरा हुने मात्र अमेरिका आउन पाउने हुन् ।

नेपालभन्दा धेरै इजिप्ट ५,५६८, रसिया ५,११८, प्रजातान्त्रिक कंगो ४,७४३, र इरान ४,१०१ छन् । सन् २०२० को डिभी भर्न नपाएका देशका नागरिकहरुमा बंगलादेश, ब्राजिल, क्यानडा, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, भारत, जमाइका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, पेरू, फिलिपिन्स, दक्षिण कोरिया, संयुक्त अधिराज्य (आयरल्याण्डबाहेक), र यसमा निर्भर भू–भाग, र भियतनाम छन् ।

सन् २०१८ अक्टोबर ३ देखि नोभेम्बर ६ सम्मको ३४ दिनका लागि खोलिएको आवेदन समयमा कूल १ करोड ४७ लाख २२ हजार ७ सय ९८ निवेदन गल्ती नगरी भरिएको पाइएका थिए । यसमा छानिएका मानिसले अक्टोबर १, २०१९ देखि सेप्टेम्बर ३०, २०२० सम्ममा अमेरिका आउने भिसा पाउने छन् ।

डिभी चिट्ठा अमेरिका आउने र बाँकी जीवन यहा व्यतित गर्न चाहनेका लागि सबभन्दा सजिलो तथा सम्मानित उपाय हो। डिभी पर्ने बित्तिकै अमेरिका आउन भने पाइने होइन । चिट्ठा परेपछिका प्रक्रिया छन्, फर्स्ट लेटर, सेकेन्ड लेटर, अन्तर्वार्ता, स्वास्थ्य – परीक्षण आदि । तर सेकेन्ड लेटरपछि अन्तर्वार्तामा जाँदा गर्नुपर्ने तयारी, अनि अन्तर्वार्तापछि हातमा भिसा नपरून्जेल अमेरिका आउने ग्यारेन्टी पक्कै हुन्न ।

सन् १९९० मा कानुन ल्याएपछि डिभी चिट्ठाको सुरूवात सन् १९९५ मा भएको हो । तर नेपालीले डिभी चिट्ठा भर्न थालेको अलिपछि हो । वर्षको ५ देखि ५५ हजार यसै माध्यमबाट सधैंका लागि अमेरिका आउन पाउँछन् ।

Leave A Reply

Your email address will not be published.