‘नेपाली स्याट – १’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

0

काठमाण्डौं – देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट – १’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् ।

नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ निर्माणको काम समयमै गर्न नसकेकाले उक्त कुराको जानकारी जापानस्थित क्युटेक विश्वविद्यालयमा हाल अध्ययनरत नेपाली विद्यार्थी हरिराम श्रेष्ठले नाष्टका वैज्ञानिकलाई जानकारी गराएका हुन । पहिलो पटक नेपाली स्याट – १ ले खिचेका सो तस्वीर केही धमिलो कैद भएका नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

‘आकाशमा बादल लागेको र बढी घाम लागेका बेला भूउपग्रहले धमिलो तस्वीर कैद गर्ने गर्छ”, उनले भने, “नेपालमा ‘ग्राउण्ड स्टेशन’ निर्माण नभइसकेकाले जापानको क्युटेक विश्वविद्यालयले सो कुराको जानकारी हामीलाई गराएको हो ।’ नेपाली स्याट–१ ले सूर्य र पृथ्वीका तस्वीरका अलवा चीन र भारत सिमानाका तस्वीर पनि कैद गरिसकेको बताइएको छ ।

अनुभवी दक्ष जनशक्तिको अभाव, प्रशासनिक विधि र सार्वजनिक खरीद ऐनमा समय खर्च गर्नुपरेकाले नाष्टमा समयमै ग्राउण्ड स्टेशन निर्माण गर्न नसकिएको ढकालले जानकारी दिए । नेपालमा ग्राउण्ड स्टेशन निर्माणमा ढिलाइ भएसँगै देशले आफ्नो भूउपग्रहबाट समयमै आवश्यक सूचना प्राप्त गर्न सकेको छैन । नेपालमै नेपाली स्याट–१ बाट सूचना प्राप्त गर्न नाष्टले आउँदो शुक्रबारसम्ममा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न गर्ने जानकारी गराएको छ ।

नाष्टमा ग्राउण्ड स्टेशन निर्माणका लागि सात देशबाट सामग्री सङ्कलन गर्नुपरेको ढकालले बताए । उनले भने, ‘नाष्टको कार्यालयभित्र ऐन्टेना जडान गरिसकेपछि त्यसमा प्राविधिक समस्या भएन भने अबको एक हप्तामा सो भूउपग्रहबाट सूचना लिन सक्नेछौँ ।’ नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि अनुमतिपत्र लिनुपरेकाले त्यसमा केही दिन समय खर्च गर्नुपरेको हो । नेपाली स्याट–१ सँग निरन्तर दुईदेखि तीन वर्ष तस्वीर सङ्कलन गर्न सक्ने क्षमता छ । नाष्टले जापानको बर्डस परियोजनालाई भविष्यमा निरन्तरता दिन लागि पर्ने जानकारी गराएको छ ।
रासस

Leave A Reply

Your email address will not be published.