टिपरबाट घुस लिने पाँच प्रहरी अख्तियारको फन्दामा

0

काभ्रे – टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बु राजमार्गको विभिन्न पोस्टमा कार्यरत् प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो ।

बिहीबार साँझसम्मको स्थलगत अनुगमनकाक्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपरचालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उनकाअनुसार मण्डनदेउपुर नगरपालिकास्थित हेलम्बु राजमार्गमा पर्ने हिगुवापाटी प्रहरीचौकीमा कार्यरत् प्रहरीजवान तेजप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा कार्यरत् हवल्दार रामहरि मानन्धर र जवान हरिप्रसाद बानियाँलाई टिपरचालकसँग घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

साथै, पाँचखाल प्रहरीचौकीमा कार्यरत् हवल्दार भक्तबहादुर हायू र जवान ज्ञानबहादुर लाम्गाडेलाई अरनिको राजमार्गस्थित केराघारीबाट पक्राउ गरिएको छ ।

उजुरीका आधारमा स्थलगत अनुगमन गर्दा ती प्रहरीलाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए ।

उनकाअनुसार ‘ओभरलोड’ तथा सडकमा पानी चुहाउन नियन्त्रण गरेको भन्दै ट्राफिक तथा जनपद प्रहरीले टिपरचालकसँग रकम असुल्दै आएका थिए ।

उजुरीमा प्रहरीले प्रतिटिपर चालकसँग मासिक रु दुई हजार असुल्दै आएको उल्लेख गरेपछि स्थलगत अनुगमन गरिएको अख्तियारले जनाएको छ ।

पक्राउ गरिएका प्रहरीले टिपरसँग रु दुई हजार लिइएको अवस्थामा रंगेहात पक्रिएको हो । काभ्रेपलाञ्चोकस्थित अरनिको र बीपी राजमार्गमा दैनिक एक हजार ५०० टिपर गुड्ने गर्दछन् । रासस

Leave A Reply

Your email address will not be published.