राष्ट्रसंघले आग्रह गरे शान्ति मिसनमा थप सेना पठाउन तयार छौँ : प्रधानसेनापति

0

काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापाले संयुक्त राष्ट्रसंघको आह्वानमा सरकारी नीति अनुरुप विश्वका विभिन्न देशमा शान्ति स्थापनाका लागि खटिँदै आएको र आवश्यकताका आधारमा राष्ट्रसंघीय शान्ति मिसनमा थप सेना पठाउनका लागि पनि तयार रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा विश्वका सेना प्रमुखहरुको बैठकमा नेपालका प्रधानसेनापति थापाले यस्तो बताएका हुन् । सो बैठक हरेक दुई वर्षमा हुँदै आएको छ ।

सेना प्रमुखहरुको तेस्रो बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘संयुक्त राष्ट्रसंघले अनुरोध गरे हामी थप सेना उपलब्ध गराउन तयार छौँ ।’

न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार सम्मेलनका क्रममा थापाले राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाले विगत ६ दशकदेखि उल्लेख्य भूमिका खेल्दै आएको बताएका थिए ।

नेपालले सन् १९५८ देखि विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्रसंघको मातहत रहेर शान्ति मिसनमा काम गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.