विषादी परीक्षणपछि मात्रै तरकारी बोकेका गाडीको भन्सार पास गर्न सुरु

0

भैरहवा – नेपाल – भारत सिमाना रुपन्देहीको बेलहियाबाट तरकारी र फलफूल बोकेका भारतीय गाडी विषादी परीक्षणबाट मात्रै भन्सार पास गर्न सुरु गरिएको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी जाँच गरेर मात्रै गाडी भन्सार पास गर्न सुरु गरिएको हो । बुटवलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा विषादी जाँच गरेपछि मात्रै बेलहियाबाट फलफूल र तरकारी बोकेका गाडी नेपाल भित्र्याउने गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले जानकारी दिए ।

सर्वोच्चले गत बुधबार विषादी जाँच तत्काललाई स्थगीत गर्ने मन्त्रिपरिषदको असार १८ को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशको भोलिपल्ट बिहीबारदेखि नै बेलहियाबाट विषादी परीक्षणपछि मात्रै फलफूल र तरकारी बोकेका गाडी नेपाल प्रवेश गर्न दिइएको सूचना अधिकृत पौडेलले बताए ।

बिहिबारदेखि नै तरकारी र फलफूलको विषादी परीक्षणपछि मात्रै गाडीको भन्सार पास गरेका छौं, दुई दिनमै ५० वटा भन्दा बढी विषादी जाँच गरेका गाडी भन्सार पास भएका छन्, उनले भने । बणिज्य तथा आपूर्ति विभागले असार २ गते तरकारी तथा फलफूल आयात गर्दा भन्सार विन्दुमै विषादी चेकजाँच गरेरमात्रै पैठारी गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । तर, तीन साता नबित्दै सरकारले उक्त निर्णय स्थगीत गरेको थियो ।

विषादी जाँच्ने निर्णयबाट पछि हटेर सरकारले नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै सर्वोच्च अदालतमा त्यसविरुद्ध रिट परेको थियो । सरकारि निर्णयपछि विषादी जाँचबिनै बेलहिया नाकाबाट धमाधम तरकारी तथा फलफूल बोकेका गाडी नेपाल भित्रिएका थिए । भारतलगायत तेस्रो मुलुकबाट बेलहिया नाका हुँदै आयात गरिने फलफूल तथा तरकारीको विषादी परीक्षण सुरु गरिएको क्वारेन्टाइन कार्यालय बेलहियाका प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए ।

बुटवलमा रहेको जाँच इकाईबाट विषादी परीक्षणको रिपोर्ट नआएसम्म हामीले गाडी प्रवेश दिएका छैनौं– उनले भने । भन्सार नाकामा गाडी आएपछि व्यवसायीले विषादी परीक्षणका लागि बुटवलमा रहेको जाँच इकाईमा लैजाने गरेका छन् । सर्वोच्चको आदेशलगत्तै तरकारी र फलफूल बोकेका गाडी विषादी परीक्षण गरेर त्यसको रिपोर्टका आधारमा मात्रै भन्सार पास गर्नु भनेर विभागबाट निर्देशन आएपछि हामीले सोही अनुसार गरेका हौं– भन्सारका सूचना अधिकृत पौडेलले भने । बेलहिया नाकामा भने विषादी परीक्षण इकाई छैन । यसअघि सरकारको निर्णयसँगै एक साता सीमामै गाडी रोकिएका थिए । त्यसपछि व्यवसायीले काठमाडौंको कालीमाटीमा रहेको परीक्षण इकाईमा जाँच गरेर रिपोर्ट ल्याएपछि त्यसैका आधारमा गाडी भन्सार पास गर्ने गरिएको थियो ।

कर्मचारी अभावले बुटवलमा रहेको जाँच इकाई बन्द हुँदा विषादी जाँचका लागि काठमाडौं लैजानुपर्ने बाध्यता व्यवसायीलाई थियो । लुम्बिनी फलफूल तथा तरकारी थोक बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले बुटवलमा विषादीको परीक्षण हुन थालेपछि व्यवसायीलाई पनि सहज भएको बताए । अहिले बुटवलको विषादी जाँच इकाई प्रदेश पाँच सरकारले संचालन गरेको छ ।

Leave A Reply

Your email address will not be published.