इनासको तेश्रो युरोपियन क्षेत्रीय बैठक र नृत्य प्रतियोगिता सम्पन्न

0

प्रकाश तिवारी
जर्मनी, चैत्र २३ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को तेश्रो युरोपियन क्षेत्रीय बैठक र युरोप स्तरीय एकल नृत्य प्रतियोगिता सफलतापुर्वक सम्पन्न भएको छ ।

अप्रिल ३-४ गरी दुई दिनसम्म जर्मनीको बोखुममा सम्पन्न कार्यक्रमको पहिलो दिन बिशेषगरि कलाकार समाजको युरोप महादेश स्तरीय क्षेत्रीय बैठकमा इनास स्थापना भएका विभिन्न देशका प्रतिनिधिहरुले आफ्नो प्रगति प्रतिबेदन तथा भावी कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।

बैठकमा २०१६ मा सम्पन्न हुने ईनासको चौथो युरोपियन क्षेत्रीय बैठक तथा युरोप स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गर्नका लागि युरोपका विभिन्न देशका प्रतिनिधिहरुले प्रस्ताव पेश गरेका थिए भने अन्त्यमा ईनासको चौथो संस्करणको कार्यक्रम आयोजना गर्ने जिम्मा स्विजरल्याण्डलाई दिने निर्णय गरिएको छ ।

image6-840x420

स्वीजरल्याण्डका तर्फबाट एनआरएनए स्वीजरल्याण्डका निवर्तमान अध्यक्ष बिनय श्रेष्ठले प्रस्ताव पेश गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनएका प्रमुख संरक्षक रामप्रताप थापा रहेका थिए भने कार्यक्रमको बिशेष अतिथिमा एनआरएनएका युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ रहेका थिए ।

इनास युरोपका संयोजक अर्जुन काफ्लेको सभापतित्त्वमा सम्पन्न उक्त कार्यक्रममा कलाकार समाजका केन्द्रीय अध्यक्ष पुष्प बरुवाल, युरोप संयोजक अर्जुन काफ्ले तथा एनआरएनए जर्मनीका निवर्तमान अध्यक्ष पुष्प थापाको बिषेश उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोश्रो तथा प्रमुख दिन इनासको तेश्रो यूरोप स्तरीय नेपाली एकल नृत्य प्रतियोगिता, अन्तर्राष्ट्रिय नेपाली कलाकार सम्मान २०१५, तेश्रो इनास फिल्म अवार्ड २०१५ को लागि प्रथम चरणको लागि नोमिनेसनमा परेका १५ ओटा नेपाली चलचित्रको नामावली सार्बजनिक लगायत बिबिध सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरिएका थिए ।

image2-300x169

तेश्रो युरोप स्तरीय एकल नृत्य प्रतियोगितामा यो वर्ष युरोपका बिभिन्न देशबाट गरि ९ जना कलाकारले भाग लिएका थिए। जसमा जर्मनीकी सोनिया श्रेष्ठ प्रथम, बेल्जियमकी एलिना केसी लाई दोश्रो तथा नेदरल्यान्ड्सका तुफान घले तेश्रो भएका छन्। ५ सदस्यीय निर्णायक टोलीद्वारा निर्णय गरिएका बिजेताहरुलाई नगद पुरस्कार क्रमस ७०१ युरो ५०१ युरो र ३०१ युरो सहित इनास डानसिङ्ग अवार्ड तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हाल बेलायतमा बसोबास गर्दै आएका कलाकार, लेखक तथा निर्देशक मनिष कुमार श्रेष्ठलाई अभिनय तथा निर्देशनको माध्यमद्वारा कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नेपाली कलाकार सम्मान २०१५ द्वारा सम्मान गरियो । त्यसैगरी, बेल्जियम निवासी कलाकार तथा समाजसेवी सोफिया महर्जन कार्कीलाई प्रवासमा रहेका नेपाली वालबालिकाहरुलाई नेपाली मौलिक संस्कृति र परम्पराको बारेमा ज्ञान दिनुको साथै भाषा पाठशाला संचालन गरेर आफ्नो भाषाप्रति अभिरुचि जागृत गराउनुका साथै नृत्य, उदघोषण र प्रतिभा प्रदर्शन आदिका माध्यमबाट नेपाली भाषा, कला र संस्कृतिको उत्थानमा पुर्याएको योगदानको उच्च कदर गर्दै “अन्तराष्ट्रिय नेपाली कलाकार समाज प्रेरक युवा- २०१५” को उपमा सहितको कदर-पत्र प्रदान गरिएको छ ।

यसै क्रममा नृत्य तथा गीत-संगीतको माध्यमबाट निरन्तर रुपमा नेपाली कला र संस्कृतिकको उत्थान तथा संरक्षणमा यस संस्थाले पुर्याउदै आएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै युरो नेपाल कलाकार संघ बेल्जियम साथै म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमलाई “अन्तराष्ट्रिय नेपाली कलाकार समाज सम्मान २०१५” द्वारा सम्मानित गरिएको छ । त्यसैगरी प्रवासमा रहेर नेपाली साहित्यको उत्थान एवं श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै नेदरल्यान्ड्स निवासी साहित्यकार हरि पौडेललाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा आगामी अक्टोबरमा एक बिशेष कार्यक्रमका बीच नेपालमा वितरण हुन लागेको तेश्रो इनास फिल्म अवार्डका लागि प्रथम चरणको नोमिनेशनमा परेका टप १५ चलचित्रको नामावली सार्वजनिक गरिएको थियो । जसअनुसार चलचित्र आधिबाटो, कबड्डी, श्री ५ अम्बरे, लज्जा, हिम्मतवाली, बितेका पल, नोभेम्बर रेन, नाइँ नभन्नु ल-२, स्टुपीड मन, झोले, ऋतु, मोक्ष, जेरी, छ एकान छ र कोहिनुर रहेका छन्।

कार्यक्रममा कलाकार समाज जर्मनीका अध्यक्ष सन्तोष राज गुरुङ्गको नेतृत्वमा शान्तिपथ सांगीतिक समुहको बिशेष प्रस्तुति रहेको थियो भने विभिन्न देशबाट आएका कलाकारहरु सरिता हुमागाई, राजमान तमाङ, अन्जु गुरुङ र सुभाष सुन्दास, इनास ग्लोबलकी कोषाध्यक्ष राधी क्षेत्री, गत बर्षकी डानसिङ्ग स्टार दिपिका केसी, लगायतले बिभिन्न सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेर कार्यक्रममा मनोरन्जन प्रदान गरेका थिए। यसरि सम्पन्न कार्यक्रमको संचालन सोफिया महर्जन कार्की र ईनासका युरोपका सह-संयोजक गुणराज शर्माले संयुक्त रुपमा गरेका थिए।

साभार- नेपालीपत्र

Leave A Reply

Your email address will not be published.