विप्लव समूहप्रति कठोर बन्दै सरकार

0

काठमाडौं – सरकारले प्रतिबन्धित नेकपाप्रति कठोर नीति लिने देखिएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेत्र विक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेकपालाई ‘संगठित आतंककारी समूह’ भनेका छन् । सरकारका प्रवक्ताले नै विप्लव समूहलाई ‘आतंककारी’ भनेकाले सरकार सो संगठनप्रति थप आक्रामक बन्ने संकेत देखिएको हो ।

सञ्चार मन्त्रालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले विप्लब समूह ‘आतंककारी समूह’ नै भएको ठोकुवा गरेका छन् । विप्लवका क्रियाकलाप जनतामा त्रास र भय फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको टिप्पणी उनले गरे ।

उनले भने, ‘कुरा क्रान्तिकारी, परिणाम दक्षिण पन्थीहरुलाई टेवा पुर्याउने हो उहाँहरुको । दक्षिण पन्थीहरुको सेवा गरिरहेको छ विप्लव भन्ने आतंककारी समुहले । यो आतंकारी नै हो । अपराधिक नै हो संगठित रुपमा ।’

उनले सरकारले वार्ता आव्हान गर्दा गर्दै अस्वीकार गरि हिंसा रोजेर विप्लव समूहले उपयोगितावादी नीति लिएकोसमेत बताए । 

उनले भने, ‘उहाँहरु जम्मा जम्मी उपयोगिता वादी हो । अराजकतावादी हो । लुटेरा समुह हो । क्रमशः संगठित आतंकवाद हो । सामाजिक फासिवाद पनि हो । त्यो कुनै पनि प्रकारले कुनै दर्शन विचार सिद्धान्तको निकट छैन । चुनाव लड्ने हुती छैन । कुनै कोठामा बसेर फोनमा १२ वटा सिम फेरेर मान्छेलाई दिनहुँ त्रसाएर के हुन्छ ? त्यसकारण सरकार तर्सदैन ।’

सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै उनले विप्लव समूहले नै वार्तालाई अस्वीकार गरि भागेको टिप्पणी गरे । 


उनले भने, ‘हामीले वार्ता पनि गर्यौँ । वार्तालाई उहाँहरुले रुचाउनु भएन । अनुचित कार्य गर्दे हिड्नुभयो । गैर संवैधानिक कार्य गर्दै हिड्नुभयो । त्यसो भएपछि नियन्त्रणमा लिने, निष्तेज गर्ने सरकारको काम हो । त्यसैले बल प्रयोग गरेको छैन सरकारले । उहाँहरुलाई फेरि पनि अनुरोध छ । हिंसाको उन्माद र रक्तपिपाशु मानसिकता नेपाली समाजले अस्वीकार गरेको छ है । थाहा पाउनु पर्यो । यो लुटपाटको धन्दा, आतंकको धन्दा जारी राखेमा । क्षति व्यहोर्ने उहाँहरुले नै हो । हाम्रो अनुरोध छ । क्षति तर्फ नजाऊँ समय छ । आउनुहोस् छलफल गरौ ।’

जनताको अधिकार प्राप्तीका लागि आवश्यक परिर्वतन भईसकेको भन्दै उनले व्यक्ति विशेषको चाहाना र मनोकामनालाई जनताले स्वीकार नगर्ने चेतावनी दिए । 

उनले भने, ‘व्यक्ति व्यक्तिका अधिकार के के चाहिएको हो ? त्यो मनोगत आकांक्षाले हुँदैन । जनता सहमत हुनुपर्छ । जनताले हिंसालाई अस्वीकार गरेको हो । क्रान्तिको नाममा स्कुल बन्द ? वितण्डा । वितण्डा हो नि यो बाँकी के हो ? कुहिरी मण्डलमा हिँडेर आफै अरुलाई भ्रम पर्या छ भनठान्नु हुँदैन ।’ 

उनले दुई तिहाईको सरकार त्यत्तिकै नआएको र सरकारलाई के गर्नुपर्छ भन्ने राम्रो हेक्का भएको बताए । उनले भने, ‘दुई तिहाईको सरकार सिमलको भुवा होइन । यसो खस्ने कता जाने कता जाने टुंगो नभएको ।’

dc nepal

Leave A Reply

Your email address will not be published.