बालीनाली सुकेपछि कृषक चिन्तित

0

मुगु – मुगु जिल्लाका अधिकाँश खेतबारीमा लगाएको अन्नबाली खडेरीले सुकेको र बचेको पनि किराले खान थालेपछि कृषक चिन्तामा परेका छन् । हिउँदको समयमा राम्रै हिमपात हुँदा हिउँदे बाली तथा फलफुलको उत्पादन हुने आशामा खुसी भएका यहाँका कृषक वैशाख लागे यता वर्षा नभएर खडेरीले बालीनाली खेतबारीमै सुकेपछि चिन्तित भएका हुन् ।

‘उम्रेको बाली केही त खडेरीले डढेर गयो बचेको पनि किराले खाएर सखाप पार्न थाल्यो अब के गर्ने ?’ छायानाथ रारा–१ का स्थानीय कृषक लालदेवी शाहीले भनिन् । थोरै जमिन भए मकै सिमी छरौँ भन्नु यति धेरै जग्गा बाँझो रहने भयो भने खाद्यान्न संकट पनि निम्तिने शाहीको भनाइ छ । खेतबारी हेर्दा रुन मन लाग्छ । अनि आकाशतिर हेर्दै धारे हात लगाउन मन लाग्छ । धान, मकै, कागनु लगायतका बाली पानी नपर्दा खेत गह्रामा नै सुकिसकेका छायानाथ रारा नगरपालिका–४ कि नम्रता रोकायालाई बताइन् ।

सिँचाइ सुविधा छैन


जिल्लाको चार वटा स्थानीय तह मध्ये खत्याड गाउँपालिकामा केही सिँचाइयोग्य जमिन भएकाले रोपाइँ भइरहेको छ । तर, छायानाथ रारा नगरपालिका र सोरु गाउँपालिकामा भने धानका बिउ ब्याडमा नै सुक्न थालेका छन् । यता मुगुमकार्मारोङ गाउँपालिका पुरै सुक्खा क्षेत्र भएकाले कृषकले खेतबारीमा लगाएको चिनो, कागनु, कोदो, मार्से भने पुरै खडेरीले सखाप भएको छ ।

स्थानीयतहको निर्वाचनका वेला राजनीतिक दलका नेताहरूले सिँचाइ नपुगेको स्थानमा सिँचाइ, सिँचाइ कुलो बनाउन नसकिने स्थानमा थोपा सिँचाइ, पानी भकारी, आकासे पानी संकलन, नदी तथा खोलाको पानी लिफ्टिङजस्ता आकर्षक प्रतिबद्धता गरे पनि स्थानीय तहले अधिकार प्राप्त गरेको दुई वर्ष बितिसक्दा पनि कृषकले आकासे पानीको भरमा खेतिपाती गर्नु परिरहेको छ । चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा नातागोतालाई योजना दिएर कसरी बलियो बनाउने भन्नेमा नै जनप्रतिनिधि केन्द्रित भएका छन् ।

संघीयतापछि कृषि कार्यालय स्थानीय तहमा गाभिएको र जिल्लामा जुम्ला कार्यालय रहने गरी कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय रहेकाले कृषिमा देखिएका समस्याका विषयमा सोधपुछ गर्न कहाँ जाने भन्नेमा पनि कृषक अन्योलमा छन् । अहिले खडेरी परेको तथा सुक्खा मौसम हुँदा बालिनालीमा विभिन्न रोग र किराको संक्रमण बढ्ने कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुले जनाएको छ ।

अहिले सम्पर्क केन्द्रसँग रासायनिक तथा जैविक विषादीको औषधि नभएकाले निजी एग्रोभेटमा विषादी किन्न सकिने सम्पर्क केन्द्रका निमित्त प्रमुख सुकिराम नेपालीले जानकारी दिए । बालीनालीमा किरा लागेको भन्ने विषयमा सम्बन्धित स्थानमा नै पुगेर संक्रमित किराको विषयमा एकिन भन्न सकिन्छ भने तथा निजी एग्रोभेटमा पाइने निम वेस पेस्टिसाइज नामक जैविक विषादी प्रयोग गर्न सकिने नेपालीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.