को हुन्, कृष्ण कुमार महतो ?

0

बिगत देखि बर्तमान सम्मको उनको परिचय र संघर्षको नालेबेली

जनकपुर – २०५२ सालको भाद्र महिनामा साबिकको लक्ष्मिनिवास गा. बि. स. को चित्रपुर (हालको बटेश्वर गाउँ पालिका) मा जन्मिएका कृष्ण कुमार महतो, जनकपुर सहित सिंगो प्रदेश २ मा मात्रै नभएर देशभर नै कलाकरीतामा परिचित नाम हो ।

बाल्यकाल देखिनै कलाकारीतामा रुझान राख्ने महतोलाई “अप्पन” नामक सर्ट मुभिले देशभरमा उनको ख्यातिलाई अझै बढायो । भने उनको कलाकारीतालाई अगाडि बढाउन तराई मधेशको लोकप्रिय टेलिभिजन कार्यक्रम “रोचक एण्ड घोचक” ले निकै ठूलो सहायता गर्‍यो । मुलधारका नेपाली सिनेमामा समेत अभिनय गरेका उनको लेखन, गायन र अभिनय समेत रहेको ” इ छे जनकपुर” बोलको गित उनको करीयरको सबैभन्दा हिट गित हो ।

कलाकारीताको धेरै बिधामा पोख्त रहेका उनी अभिनय, स्क्रीप्ट लेखन, निर्देशन सहित आफ्नै प्रोडक्सन हाउस समेत खोलेका छन् । उनै महतोको जीवन संघर्ष र सफलताको बारेमा तुलसी नेपाल सँग गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरीरहेका छौं, कलाकारीतामा संघर्षरत अरु आम युवालाई पनि प्रेरणाको स्रोत बन्छ भन्ने अपेक्षाका साथमा ।

बाल्यकाल देखि नै अभिनयमा रुचि राख्ने महतोले गाउँ घरमा हुने हरेक नाटकमा उनको अभिनय अनिवार्य जस्तै थियो । सडक नाटक होस् या कुनै जनचेतनामुलक नाटक नै किन नहोस् सबैमा उनको अभिनय अनिवार्य जस्तै थियो । पढाईमा समेत अब्बल रहेका उनले सानै उमेरमा आफ्ना बाबुलाई गुमाएपछी उनको काँधमा पारीवारीक जिम्मेवारी समेत आइपर्नु स्वभाविक नै हो । एस. एल. सी. सम्मको शिक्षा गाउँ बाटै हासिल गरेका उनले उच्च शिक्षा भने काठमाडौ बाट गरेका हुन ।

आफ्नो रुझान र करीयर मध्यबाट एकको चुनाउ गर्नुपर्ने स्थितीमा उनले तत्कालिन समयमा करियर नै चुने र कलाकारीताको अनिश्चित फिल्डबाट भबिष्य सुनिश्चित नहुने देखेर उनले डिप्लोम इन रेडियोग्राफी समेत गरे । उच्च अध्ययनकै क्रममा पनि समय मिलाएर विभिन्न स्टेज सो तथा नाटकहरुमा उनको अभिनय र सहाभागिता भने निरन्तर कायमै थियो भने उता पढाईमा अब्बल रहेका उनले त्यसैबेला रेडियो नाटकमा समेत काम गर्न थाले ।

मनमा कलाकारीता हुँदा हुँदै पनि उनले अध्ययनलाई निरन्तर जोड दिए फुल स्कलरसिपमा नै उनले उत्कृष्ट अंकका साथमा डिप्लोमा इन रेडियोग्राफी समेत सके र सँगै जागिर पनि खान थाले त्यो पनि सम्मानजनक सेवा सुबिधा सहित । तर त्यो जागिर र सेवा सुबिधाले पनि उनको कलाकारीताको इच्छालाई मार्न सकेन र उनी पुर्णकालिन रुपमा कलाकारीतामा आईपुगे त्यो पनि आफ्नो जागिर सेवा सुबिधा र एउटा बनिसकेको करीयरलाई समेत छोडेर ।

अध्ययन तथा जागिरकै क्रममा रहँदा पनि लोकप्रिय टेलिभिजन कार्यक्रम “रोचक एण्ड घोचक” मा अभिनय समेत गर्न भ्याएका उनले पुर्णकालिन कलारीता सुरु गरे सँगै उक्त कार्यक्रममा अझ बढी ध्यान दिन थाले सँगै उनको लोकप्रियता र प्रसिद्धि ह्वात्तै बढ्न पुग्यो र एक परिपक्व कलाकारका रुपमा महतो पनि चिनिन थालें, टेलिभिजन कार्यक्रम सँगै उनले आफ्नै लेखन तथा गायनको क्षेत्रमा समेत आफ्नो सक्रियता बढाए । उनका ” चली आई किछ गजल गुनगुनाई”, “रुकियो कने त बाईर दिया” र “इ छे जनकपुर जस्ता गित र म्युजिक भिडियो समेत सार्वजनिक गरे सँगै उनको कलाकारीताले अझै गति लियो ।

यो सँगै उनले नेपाली मुलधारका नेपाली सिनेमा मा समेत आफ्नो अभिनय कौशल देखाउने अवसर समेत प्राप्त गरे २ रुपैयाँ, रुदाने , फाटेको जुत्ता, पासवर्ड जस्ता मुलधारका सिनेमा मा उनको जिबन्त अभिनय सँगै उनको कलाकारीताको साक्षी सिंगो नेपाली सिनेमाका पारखी समेत बन्न पुगे भने उनको लोकप्रियता देशभर फैलन पुग्यो ।

फिल्म आफैं निर्माण गर्ने सोच सँगै आफ्नो पोडक्सन हाउस समेत संचालनमा ल्याउने सोच सँगै प्रोडक्सन हाउस दर्ता गरेका उनले नेपाली सेनाका लागि निर्माण गरीने डकुमेन्ट्रीको लागि आबेदन खुलेको थाहा पाए र स्क्रीप्ट सहित आबेदन दिए, जब उनको स्क्रिप्ट छानियो, त्यस पश्चात् “अप्पन” डकुमेन्ट्रीको निर्माणको काम थाले । त्यो काम सजिलो पक्कै थिएन आफ्नो अभिनयको कम्फर्ट जोनबाट डकुमेन्ट्री निर्माण, लेखन र निर्देशनको फिल्ड त्यति सजिलो भने पक्कै थीएन । विभिन्न कठिनाईका बाबजुद “अप्पन” निर्माणको काम सकियो ।

नेपाली सेनाको डकुमेन्ट्री प्रदर्शनीमा जसै ” अप्पन ” ले स्क्रीनिङको अवसर प्राप्त गर्‍यो । उनले नेपाली सेनाको सहयोगमा निर्माण गरेको पहिलो डकुमेन्ट्रीले प्रथम स्थान हासिल गर्दै २ लाख रुपैयाँ राशिको पुरस्कार समेत हात पारे । यसले उनको अलग पहिचान मात्रै स्थापित गरेन उनको लोकप्रियताको उचाईलाई अझै माथी लैजान सफल भयो भने महतोले पनि मुलधारका भनिएका मिडियामा समेत आफ्नो उपस्थिती देखाउन सफल भए ।

नेदरहुड फिल्म ईन्स्टिच्युट झारखण्ड बाट एक महिने एक्टिङ्ग र डाईरेक्सनको कोर्स पूरा गरेका महतोले एफ. टी. आई. र एफ. टी. टी. आई पुणे बाट समेत एक्टिङ र फिल्म सम्बन्धि अध्ययन गरेका छन् उनले त्यो पनि भारतिय दूतावास द्वारा उत्कृष्ट कलाकारलाई उपलब्ध गराइने फुल स्कलरसिप अन्तरगत, यसले पनि उनको अभिनय र अन्य बिधामा उनलाई पारंगत गराएको अनुभूति हुन्छ ।

फिल्म अध्ययनकै क्रममा पुणेमा उनले अभ्यासको लागि निर्माण गरेको सर्ट मुभिले समेत त्यो ब्याचमा उत्कृष्टता हासिल गरेको थियो भने अभिनय तर्फ पनि उनि प्रथम भएका थिए । त्यो सर्ट मुभिमा उनले नेगेटिभ रोल निर्वाहा गरेका थिए । त्यसैले पनि अभिनयमा उनको कमेडिको अतिरिक्त रोल नेगेटिभ नै गर्न मन लाग्ने उनी बताउँछन् । हिरोइज्वममा उनको रुचि निकै कम छ । मधेसी समुदायको उल्लेख उपस्थिती रहेका कतार, दुबई, मलेसिया लगायतका देशमा पनि आफ्नो प्रस्तुतिको लागि पटक पटक पुगेका छन् भने छिट्टै नै आफ्नो प्रस्तुतिको लागि बाहिर जाने योजना छ उनको ।

“अप्पन” निर्माण गरेर फिल्म निर्माणमा हात हालेका महतोले ३ वटा अलग अलग मुभी निर्माणको प्रोजेक्टमा हात हालेका छन् । स्क्रिप्ट लेखनको क्रममा रहेका तीन मुभी आगामी ३ बर्ष भित्र पूरा हुने र यो तराई मधेसको मौलिक कथामा आधारित हुने उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.