सरकारले १०१ प्रजातन्त्र विरोधी विधेयक ल्यायो, कुनै पनि हालतमा पारित गर्नै दिँदैनौँ’ : देउवा

0

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकार एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न लागेको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभामा देउवाले सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेकाले कुनै पनि हालतमा पारित हुन नदिने चेतावनी दिए ।

निक्कै आक्रोशित मुद्रामा संसदमा प्रस्तुत भएका देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी लाई कांग्रेसले कुनै पनि मूल्य चुकाएर पास हुन नदिने घोषणा गरे ।

‘सरकारले प्रजातान्त्रको खिलापमा १०१ विधेयक ल्याएको छ । यसलाई कुनै पनि हालतमा हामी पारित गर्न दिँदैनौँ । हिजोभन्दा बढी सशक्त भएर आउने छौँ’, देउवाले भने ।

उनले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भए पनि संसदीय अभ्यास विपरीत भएको बताए । विधेयक संसदबाटै फिर्ता लिनुपर्ने भए पनि बाहिरबाट फिर्ता लिनु आपत्तिजनक भएको दाबी गरे ।

देउवाले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हेपेको भन्दै आक्रोश पोखे । देउवाले भने, ‘संसदमा विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री जहिले पनि उपस्थित हुनुपर्ने भए पनि उपस्थित भएका छैनन् । प्रधानमन्त्रीले हेप्ने काम गरको छन् । प्रधानमन्त्रीले बोल्दा विपक्षी आउनै पर्छ, विपक्षीले बोल्दा प्रधानमन्त्री आउनै पर्छ ।’

Leave A Reply

Your email address will not be published.