डेंगु नियन्त्रणमा चुनौती

0

काठमाडौं – पूर्वी तराईका जिल्लामा देखा परेको डेंगु नियन्त्रण हुन नसक्दा फैलिएर बिरामीको संख्या बढ्न थालेको छ । डेंगु फैलिँदा यसलाई नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय सरकारका स्वास्थ्य निकायलाई चुनौती थपिएको छ ।  ती निकायबीचमा समन्वय नहुँदा पछिल्लो समय डेंगु फैलिने क्रम जारी रहेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१५ का एक बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत वैशाख ३० गते पहिलोपटक डेंगुको संक्रमण पहिचान भएको थियो ।

डेंगुबाट हालसम्म कसैको पनि मृत्यु नभएको प्रतिष्ठानले जनाएको छ । एडिस एजिप्ट जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको संक्रमण अहिले मोरङ, झापा, उदयपुर जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म कति जना डेंगुबाट संक्रमित वा प्रभावित भए ? भन्ने तथ्यांक सार्वजनिक गरेको छैन ।

तर, डेंगु नियन्त्रण गर्न प्राविधिक सहयोग जारी राखेको विश्व स्वास्थ्य संगठनका विज्ञ अनुसार हालसम्म डेंगु प्रभावितको संख्या चार सय भन्दामाथि रहेका छन् । सामान्यतया मनसुनपछि डेंगु देखिने भए पनि यो वर्ष प्रि–मनसुनअगाडि नै देखा परेको बताइन् । पानी परेको र गर्मी पनि अत्यधिक बढेका कारण डेंगु फैलिएको हुन सक्ने दाबी चिकित्सकहरूको छ । एडिस एजिप्ट जातको लामखुट्टे नियन्त्रण गर्न स्थानीय निकायसित आर्थिक तथा प्राविधिक जनशक्तिसमेत अभाव देखिएको छ ।

अहिले प्रदेश, संघीय स्वास्थ्य सेवा तथा प्रतिष्ठानका प्राविधिक जनशक्ति परिचालन गरी फगिंङ उपकरणले प्रभावित क्षेत्रमा विषादी छिड्काउ कार्यक्रम निरन्तर जारी राखेको छ ।

के हो डेंगु ?

चिकित्सकका अनुसार एडिस एजिप्ट जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । एक्कासी रातको समय उच्च जरो आउनु, धेरै टाउको दुख्नु, आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्नु, वाक्वाकी लाग्नुलगायतका लक्षण देखापर्दछ ।

विशेषगरी, गर्मीका समयमा सो जातको लामखुट्टे देखापर्दछ । यसबाट बच्न रातको समयमा झुल ओढेर सुत्ने, घर आँगन तथा वरपर सफा गर्ने, पानी जम्न नदिने गर्नुपर्छ । डेंगु नियन्त्रण गर्न तीनवटै निकायले प्रयास जारी राखेका छन् । तर, आशातित सफलता प्राप्त हुन सकिरहेको छैनन । महाशाखाले डेंगु नियन्त्रण गर्न प्रदेश सरकारलाई ८० लाख वजेट विनियोजन गरेको जनाएको छ ।

विनियोजित रकममध्ये प्रतिष्ठानलाई ५० लाख भेन्टिलेटर खरिदमा र ३० लाख लामखुट्टेको लार्भा र अन्डा नष्ट गर्ने अभियान सञ्चालनमा खर्च गर्न पाउनेछ । अर्काेतर्फ स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजनले पनि डेंगु नियन्त्रण गर्न समस्या परेको छ । महाशाखाका प्रमुख निर्देशक डा विवेक लालका अनुसार अहिले मलेरिया, डेंगुलगायत कीटजन्य रोग नियन्त्रण गर्न भेक्टर कन्ट्रोल निरीक्षक पदका कर्मचारी फाजिलमा रहेका छन् ।

उनले भने, ‘महाशाखाले रोग नियन्त्रण गर्न प्रभावित क्षेत्रमा ९ सय डेंगु किट तथा जनशक्ति पठाएको छ । स्थानीय तथा प्रदेश सरकारबाट सहयोग माग भएका क्षेत्रमा सहयोग पनि जारी राखेको छ ।’ यसैबीच, स्वास्थ्य तथा जनसख्या मन्त्रालयले डेंगु रोग परीक्षणका लागि प्रयोग हुने किटको ४ सय मात्र पर्ने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सोमबार जारी गरेकोे विज्ञप्तिमा सो मूल्यभन्दा बढी १ हजार ८ सयदेखि दुई हजार ४ सयसम्म लिने गरेको गुनासो मन्त्रालयमा आएको हुँदा यस्तो कार्य नगर्न निजी मेडिकल कलेजलाई आग्रह गर्दै अनुगमनका क्रममा यस्तो कार्य भेटिए कालोबजारीअन्तर्गत कारबाही गरिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.