राप्रपाले आज मुस्ताङको मुक्तिनाथबाट दोश्रो चरणको स्वाभिमान यात्रा सुरु गर्दै

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मुस्ताङको मुक्तिनाथबाट दोश्रो चरणको स्वाभिमान यात्रा सुरु गर्दैछ । पहिलो चरण अन्तर्गत ताप्लेजुङबाट कञ्चनपुर हुँदै काठमाडौंसम्म ३६ जिल्लाको यात्रा गरेको राप्रपाले मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ, कास्की, लमजुङ हुँदै जेठ २७ गते गोरखा सम्मका लागि दोस्रो चरणको यात्रा अभियान सुरु गर्न लागेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताउनुभयो ।

मुक्तिनाथ मन्दिरमा बिहान ११ बजे धार्मिक अनुष्ठान गरी राप्रपाको यात्रा सुरु हुनेछ । कालीगण्डकी र बुढीगण्डकी लगायत विभिन्न कुण्डका जल संकलन गरी गोरखा लगिने र गोरखामा कलशयात्रा तथा आमसभा पछि दोश्रो चरणको यात्रा समापन हुने प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल सरकारलाई गत फागुन ७ गते २२ बुँदे ज्ञापन पत्र बुझाएर चरणबद्ध आन्दोलन थालेको राप्रपा सरकारसँग एक चरणको वार्ता गरेर अर्को वार्ता नहुँदै दोश्रो चरणको स्वाभिमान यात्रामा निस्किएको छ ।

दोश्रो चरणको यात्रामा साना ठूला बीस वटा सभाहरु हुने र सबै सभालाई राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हिन्दू राष्ट्रको पुनःस्थापना, राजा सहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्य, राष्ट्रिय अखण्डताको रक्षा, मूल्यवृद्धि नियन्त्रण लगायतका माग राप्रपाको छ ।

माग पूरा गराउन दबाब सिर्जना गर्ने, आफ्ना मागका सम्बन्धमा जनमत बनाउने, जनतालाई जागरुक गराउने उद्देश्यका साथ विभिन्न चरण गरी देशका ७७ वटै जिल्लामा यात्रा गर्ने पार्टीले जनाएको छ ।

पहिलो चरणको राष्ट्रिय स्वाभिमान यात्रा र जनसंघर्षका विविध गतिविधि सम्पन्न गरेको राप्रपा र सरकारबीच गत बैशाख १० गते वार्ता भएको थियो । दुवै तर्फबाट थप गृहकार्य सहित दोश्रो चरणको वार्तामा बस्ने सहमति भएपनि अहिलेसम्म मिति तय हुन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.