पुलिस प्रधानमन्त्री कपको फाइनलमा, एपीएफ ५ विकेटले पराजित

0

काठमाडौं – नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ५ विकेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

अब पुलिसले शनिबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबसंग खेल्नेछ । आर्मी प्रदेश ३ लाई हराएर फाइनल पुगिसकेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा एपीएफले दिएको ४२ रनको सामान्य लक्ष्य पुलिसले ९ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २२ ओभर १ बलमा अलआउट हुँदै ४१ रन बनाएको थियो । एपीएफका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका शरद भेषवाकर र पृथु बास्कोटाले सर्वाधिक ७/७ रन जोडे । यस्तै अमर सिंह रौटेलाले अविजित ६ रन जोड्दा सन्दीप जोराले ५ रन बनाए । आसिफ शेख, प्रदिप ऐरी, दिपेन्द्र राउत र सुमित महर्जन २÷२ रनमा आउट हुँदा कप्तान बसन्त रेग्मी सुन्य रनमा आउट भए ।

एपीएफलाई सस्तैमा समेट्न पुलिसका लागि ललित नारायण राजवंशीले किफायती बलिङ गरे । ललितले ६ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । कुशल भुर्तेलले ५ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए । यस्तै सागर ढकालले ८ ओभर १ बलमा ३ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

Leave A Reply

Your email address will not be published.