एमालेले आगामी निर्वाचनका लागि पार्टी पङ्क्ति परिचालन गर्ने

0

काठमाडौं । नेकपा (एमाले)ले परिवर्तित सन्दर्भमा पार्टीका धारणा स्पष्ट पार्न तथा आफ्नो नेतृत्वको सरकारले प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेट र आगामी निर्वाचन तयारीका लागि पार्टी पङ्क्ति परिचालन गर्ने भएको छ ।

पार्टीको जारी स्थायी समितिको बैठकले आज व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले संविधानको कार्यान्वयन र तहगत निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक स्थायित्वमार्फत मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्न संसद्मा सशक्त र प्रभावकारी भूमिका खेल्न पनि जोड दिएको छ ।

बैठकपछि पार्टीका सचिव तथा योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरी पार्टी पङ्क्ति परिचालन गर्न जोड दिएको जनाइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा आज बसेको बैठकमा अघिल्लो सरकारको समीक्षा, नयाँ गठबन्धन र पार्टीका आगामी कार्यभारका बारेमा समीक्षात्मक धारणा राख्नेक्रम जारी छ ।

आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव गोकर्ण विष्ट, सचिव योगेश भट्टराई, नेता शङ्कर पोखरेल र मुकुन्द न्यौपानेले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

उहाँहरुले विगत सरकारले राष्ट्र र जनताका पक्षमा गरेका सकारात्मक कामको व्यापक प्रचारप्रसार गर्दै कमजोरीबाट शिक्षा लिएर पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउँदै आगामी निर्वाचनको प्रतिस्पर्धामा बहुमत हासिल गर्न स्पष्ट नीति र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । एमाले स्थायी कमिटीको बैठक बिहीबार ११ बजे पुनः बस्नेछ ।

Leave A Reply

Your email address will not be published.