नेविसङ्घ प्रतिनिधिको विवाद टुङ्गिँदै

0

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको विवादित ११ जिल्लाका महाधिवेशन प्रतिनिधिको आज रातिसम्म टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशक समितिले आज रातिसम्म विवादित सबै प्रतिनिधि नायमावलीको टुङ्गो लगाउने जनाएको छ । आज(सोमबार) रातिसम्म विवादित जिल्ला र क्याम्पसका महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाई मङ्गलबार अपराह्न २ बजेदेखि बन्दसत्र हुने समितिका एक सदस्यले जानकारी दिनुभयो । प्रतिनिधिको विवादका कारण आजका लागि निर्धारित बन्दसत्र स्थगन भएको थियो ।

नेविसङ्घ कार्यालयका मुख्य सचिव शिव रिमालले महाधिवेशन प्रतिनिधिका कार्ड मङ्गलबार बिहान ८ बजेदेखि नेपाली काँग्रेस केन्द्रीय कार्यालय, सानेपाबाट वितरण हुने बताउनुभयो । पार्टीले नेता डा प्रकाशशरण महतको संयोजकत्वमा नेता गोविन्दराज भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशक समिति गठन गरेको छ ।

मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी काँग्रेसको भ्रातृसंस्था नेविसङ्घको ११आँै महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो । महाधिवेशनमा मुलुकभरबाट करिब तीन हजार ४०० प्रतिनिधि रहने सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

सङ्घको आगामी केन्द्रीय समिति प्रदेश संरचनासहित १५१ सदस्यीय हुने गरी विधानको टुङ्गो लगाइएको छ । विसं २०६४ पछि हुन लागेको महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० भन्दा बढी उम्मेदवारी पर्ने अध्यक्षका उम्मेदवार क्षितिज भण्डारीले बताउनुभयो ।

अध्यक्षमा हालसम्म भण्डारी, जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेत, पद्मराज पन्त, रत्न कार्की, सरोज थापा, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारीलगायतले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । अन्य केही नेता उम्मेदवारी घोषणा गर्ने क्रममा हुनुहुन्छ ।

‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औँ महाधिवेशन’ भन्ने नाराका साथ नेविसङ्घको महाधिवेशन यही साउन २३ गतेदेखि सुरु भएको हो ।

Leave A Reply

Your email address will not be published.