बाँध निर्माण रोक्न क्रान्तिकारी माओवादीको माग

0

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले सप्तरीको तिलाठीलगायत देशका अन्य सबै स्थानमा भारतद्वारा जबर्जस्ती बनाइरहेका बाँध निर्माण प्रक्रिया अविलम्ब रोक्न सरकारसँग माग गरेको छ । माओवादी अध्यक्ष मोहन वैद्यले आज एक विज्ञप्ति जारी गर्दै यसप्रकारको खुला अतिक्रमण हुँदा पनि सरकार चुप लागेर बस्नु दुःखद भएको बताउनुभएको छ ।
विज्ञप्तिमा यही साउन १३ गते सप्तरी जिल्लाको तिलाठी र भारतको विहार राज्यको सुपौल जिल्लाअन्तर्गत कुनौली ग्राम पञ्चायतको बीचको दशगजा सीमामा नेपाली जनताकातर्फबाट बारम्बार बाँध नबाँध्न अनुरोध गर्दागर्दै भारतीय पक्षबाट जबर्जस्ती नेपाली भू–भाग मिचेर बाँध बनाउँदै गरेकाले त्यसकाविरुद्ध तिलाठीका देशभक्त, स्वाभिमानी र बहादुुर नेपाली जनता उत्रिएको उल्लेख छ ।
सो क्रममा भारतीय पक्षका अतिक्रमणकारीले ढुङ्गामुढा गर्दा एक दर्जन नेपाली जनता घाइते भएको र यो घटनाले सम्पूर्ण नेपाली जनतालाई आक्रोशित तुल्याएको माओवादीले जनाएको छ ।
माओवादीले सप्तरीमा आक्रमणमा परी घाइते भएका सबैको निःशुल्क उपचार गर्न र क्षतिपूर्तिको समेत व्यवस्था गर्न माग गरेको छ । आफ्नो राष्ट्र र राष्ट्रियताका लागि ठूलाठूला बलिदान गर्ने परम्परालाई कायम राख्दै सङ्घर्षमा भाग लिएका सबै देशभक्त नेपाली दिदीबहिनी र दाजुभाइप्रति अध्यक्ष वैद्यले अभिवादन गर्दै न्यायपूर्ण सङ्घर्षमा पार्टीका तर्फबाट पूर्ण ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.