प्रधानन्यायाधीश कार्कीद्वारा पदभार ग्रहण

0

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले पद तथा गोपनीयताको शपथलगत्तै आजै पदभार ग्रहण गर्नुभएको छ । सर्वोच्च अदालतमा पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा संविधान र कानुनको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संविधानसँग बाझिएका कानुन संशोधन गर्न आदेश जारी गर्ने काम यसअघि पनि गर्दै आएको बताउँदै उहाँले आफ्नो प्राथमिकता संविधान कार्यान्वयन हो भन्नुभयो । प्रधानन्यायाधीश सुशीला कार्कीले भन्नुभयो – “आफ्नो कार्यकालको ठूलो चुनौती प्रदेशअनुसार उच्च अदालतको निर्माण गर्नु हो । १६ पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई कसरी मिलाउने भन्ने समस्या छ ।”
उहाँले धनी र हुनेखाने वर्गका लागि मात्र नभएर सीमान्तकृत र पछाडि परेका निमुखा जनतासम्म न्याय पु-याउन न्यायमा पहुँच आयोग गठन गरेको उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश कार्कीले सबैमा सहज र सरल रुपमा न्याय सेवा पु-याउन बाहिरका जिल्लाबाट पनि तारिख लिन सक्ने व्यवस्था मिलाएको र द्रुत र निरन्तर सुनुवाइका लागिसमेत पहलकदमी लिन बताउनुभयो ।
आगामी दिनमा फैसला कार्यान्वयनमा बढी जोड दिने पनि उहाँले बताउनुभयो । फैसला कार्यान्वयनकै सन्दर्भमा प्रधानन्यायाधीश कार्कीले भन्नुभयो – “तपार्इंले माओवादीका बालकृष्ण ढुङ्गेलको कुरा गर्नुहुन्छ होला । उहाँलाई न्यायाधीशले थुन्ने होइन, पुलिसले थुन्दैन ।” आगामी दिनमा कागजविहीन अदालत बनाउने तयारी भइरहेको हुनाले त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन लैजाने र अदालतमा तिर्नुपर्ने रकम पनि बैंकमार्फत तिर्ने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । उहाँ ११ महिना पदमा रहनुहुनेछ ।

Leave A Reply

Your email address will not be published.