वर्तमान सरकार ढल्न सक्दैन : एमाले

0

काठमाडौं । नेकपा(एमाले)ले वर्तमान सरकार संवैधानिक ढङ्गले पनि ढल्न नसक्ने जिकिर गरेको छ । सहिद छविलाल कार्की(ओखलढुङ्गा)को छैटौँ स्मृति दिवसका अवसरमा छविलाल स्मृति प्रतिष्ठान र एमाले–ओखलढुङ्गा सम्पर्क मञ्चद्वारा यहाँ आयोजित कार्यक्रममा एमाले महासचिव तथा प्रतिष्ठानका संरक्षक ईश्वर पोखरेल र पोलिटब्युरो सदस्य शेरधन राईले वर्तमान सरकारले आफ्ना घोषित उद्देश्यका संवैधानिक र कानुनी काम तथा तीन वटा निर्वाचन गरेर मात्र बिदा लिने बताउनुभयो ।
सो अवसरमा नेता पोखरेलले भन्नुभयो–“यो समीकरण भत्काएर अर्को समीकरण बनाउन एमाले लाग्दैन ।” उहाँले नेपालले निकै अपमान खेपेको सुगौली सन्धि भएको दुई सय वर्षपछि वर्तमान सरकारका प्रधानमन्त्रीले नेपाल र नेपालीको आत्मसम्मान जुरुक्कै उचालेको बताउँदै यसको जग पनि बलियो भएको बताउनुभयो ।
नेता पोखरेलले ओखलढुङ्गाको विकासका लागि वर्तमान सरकारले ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ जोड्ने स्वर्ण सगरमाथा चक्रपथ, दूधकोसी जलविद्युत् आयोजना र काठमााडौँ–ओखलढुङ्गा–खोटाङ राजमार्गमा बजेट छुट्याएको जानकारी दिँदै प्रतिष्ठानलाई जिल्लामा बाटोघाटो, शिक्षा, स्वास्थ्यसम्बन्धी काम गर्न पनि सुझाव दिनुभयो ।
एमाले पोलिटब्युरो सदस्य राईले एमाले नेता कार्कीको हत्याराहरु अहिले पश्चाताप गरेर बसेको विचार व्यक्त गर्दै एमालेले संविधान निर्माण र सरकारको नेतृत्व गरेर जित हासिल गरेको बताउनुभयो । सरकारका प्रवक्ता राईले कार्कीका हत्याराहरुले सजायँ भोग्नैपर्छ भन्नुभयो ।
सांसद यज्ञराज सुनुवार र शकुन्तला राजभण्डारी तथा प्रतिष्ठानका अध्यक्ष नानीबाबु बुढाथोकीले अभियुक्तहरुलाई वर्तमान सरकारले कानुनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
सो अवसरमा ओखलढुङ्गाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट श्रेणी ल्याउने तथा दलित र पिछडिएका वर्गका विद्यार्थीलाई सम्मान गरिएको थियो भने कार्कीको स्मृतिमा प्रतिष्ठानद्वारा प्रकाशित ‘छविलाल कार्की स्मारिका’विमोचन गरिएको थियो । विसं २०२५ वैशाख १ गते जन्मनुभएका एमाले नेता कार्कीको विसं २०६७मा आजकै दिन आततायीहरुले हत्या गरेका थिए ।

Leave A Reply

Your email address will not be published.