‘मानव तस्कर’ आरोप लागेका सांसदबारे माओवादीले छानबिन गर्ने

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना आठ जना सांसदले नक्कली कागजात र किर्ते गरेर नक्कली सहयोगी बनाई केही व्यक्तिलाई विदेश लैजान लागेका विषयमा आएको समाचारको सत्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । आज बसेको सो पार्टीको पोलिटब्युरो बैठकले पार्टी नेता अमिक शेरचनको नेतृत्वमा महासचिव कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल रहनुभएको छानबिन समिति गठन गरेको हो । प्रवक्ता भुसालले समितिलाई सात दिनभित्र छानबिनसम्बन्धी प्रतिवेदन तयार पारेर बुझाउन बैठकले निर्देशन दिएको जानकारी दिनुभयो ।
उहाँले समाचारमा आएजस्तै ती सांसदले नक्कली सहयोगी बनाएको हो वा होइन भन्ने विषयमा छानबिन गरिने बताउनुभयो । सांसदहरु गोमा कुँवर, रुपा महर्जन, डोरप्रसाद उपाध्याय, सिर्जना खत्री, सन्तकुमार थारु, राममाया बोगटी, दीलमाया थामी र धना पहरीले नक्कली कागजातका आधारमा नक्कली सहयोगी बनाएर आठ जना व्यक्तिलाई स्पेन जान सिफारिस गरेको समाचार आएको थियो ।
आजको बैठकमा सङ्गठनात्मक र निर्वाचन विधिबारे कार्यदलको प्रस्तुत प्रतिवेदनमाथि २२ जना पोलिटब्युरो सदस्यले धारणा राख्नुभएको प्रवक्ता भुसालले बताउनुभयो । पार्टीको तल्लो तहदेखि केन्द्रसम्म पार्टी संरचना कस्तो बनाउने भन्ने विषयमा बैठक केन्द्रित रहेको उहाँको भनाइ छ । मङ्गलबारदेखि सुरु भएको बैठक बिहीबार ११ बजे बस्ने गरी आज स्थगित भएको छ ।

Leave A Reply

Your email address will not be published.