महामन्त्री डा कोइराला अस्वस्थ, अवस्था स्थिर

0

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अकस्मात अस्वस्थ भएपछि उहाँलाई ओम अस्पतालमा भर्ना गरिएको छ । डा कोइरालालाई आइसियुमा राखी उपचार भइरहेको नेविसङ्घका नेता युपी लामिछानेले जानकारी दिनुभयो । उहाँको अवस्था अचेत छ । पारिवारिक स्रोतका अनुसार कोइरालाले मङ्गलबार राति पिज्जा खाएपछि उहाँलाई बान्ता भएको थियो । लगातार बान्ता भएपछि उहाँलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीका अनुसार अधिक बान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने बताउनुभयो । उहाँको अवस्थाका बारेमा केही बेरमा सञ्चारकर्मीलाई जानकारी दिइने डा जोशीले बताउनुभयो । उपचारका लागि उहाँलाई बाहिर लाने विषयमा उहाँको परिवारमा छलफल भइरहेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला पनि ओम अस्पताल पुग्नुभएको छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली आज विहान सो अस्पताल जानुभई नेपाली काँग्रेसका महामन्त्री डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । प्रधानमन्त्री ओलीले उहाँको उपचारमा संलग्न चिकित्सकहरुसँग भेट गरी डा कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । उहाँको स्वास्थ्य उपचारमा गम्भीर भई लाग्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो । साथै, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु पनि उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्न ओम अस्पताल पुग्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.