मोर्चाद्धारा संसद बहिष्कार

0

काठमाडौं ।  नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाउनुभएको थियो । त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद दिलबहादुर नेपालीलाई बोल्न समय प्रदान गर्नुभयो ।
सांसद नेपालीले विश्वव्यापी संविधान निर्माणको लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गर्दै दु्रतमार्गको नाममा जनताको अधिकार खोसेर घोषणा गरिएको संविधान आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।
संविधानले समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तर रुपमा आन्दोलन गर्दै आएको सदनलाई जानकारी गराउँदै उहाँले आजको बैठक बहिष्कार गरेको घोषणा गर्नुभयो ।
उहाँको बहिष्कारको घोषणासँगै मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु बैठकबाट बाहिरिनुभएको थियो । आन्दोलनरत पक्षका माग संविधान संशोधनमार्फत सम्बोधन गर्न मोर्चाले सरकारलाई आग्रह गर्दै सदनको बैठक निरन्तर रुपमा केही समयदेखि बहिष्कार गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.