संविधान कार्यान्वयन तालिका सार्वजनिक

0

काठमाडौं । सरकारले संविधान कार्यान्वयनको कार्यतालिका सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको विहीबार सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयन कार्ययोजना पारित गरेको हो । जसअनुसार आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गरिने छ भने त्यसका लागि आवश्यक ऐन साउनभित्रै बनाइने छ ।
यस्तै, २०७४ सालको कात्तिकमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको निर्वाचन गर्ने र त्यसका लागि आवश्यकपर्ने कानुन २०७४ को जेठभित्र बनाइसक्ने निर्णय पनि सरकारले गरेको छ । त्यसैगरी, २०७४ सालको फागुन र चैतमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिने छ । बैठकले प्रदेशसभाको राजधानी निर्धारण नभएसम्मका लागि प्रदेशको कार्यसन्चालन गर्न ०७४ चैत मसान्तसम्ममा स्थान तोक्ने निर्णय पनि गरेको सन्चारमन्त्री शेरधन राईले जानकारी दिए । बैठकले संवैधानिक निकायसम्बन्धी कानुनहरुको निर्माण आगामी असोज मसान्तभित्र गरिसक्ने र मंसिरभित्र ती निकायहरु गठन गरिसक्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद बैठकले द्रुतगतिबाट राहदानी प्रदान गर्न नयाँ दस्तुर तोकेको छ ।
जसअनुसार आवेदन दिएको २४ घन्टाभित्र राहदानी प्राप्त गर्न १५ हजार रुपैयाँ, दुई दिनभित्रका लागि १२ हजार र तीन दिनभित्रका लागि १० हजार रुपैयाँ तोकिएको छ । १० वर्षभन्दा कम उमेरका नाबालकको हकमा भने तोकिएको दस्तुरको आधामात्र लाग्ने छ । यसैगरी, राहदानी हराएर नयाँ निवेदन दिएमा तोकिएको दस्तुरमा थप पाँच हजार रुपैयाँ लाग्ने छ ।
यस्तै, मन्त्रिपरिषदको विहीबारको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा शैलेन्द्र खनाल र जीतबहादु पुनलाई बढुवा गरेको छ । बैठकले आगामी छ महिनाभित्र कुनै एउटा सरकारी अस्पतालमा रक्तमासी (बोनम्यारो) प्रत्यारोपण गर्न अत्याधुनिक मेसिन जडान गर्ने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.