ट्रेड युनियनको निर्वाचनमा सङ्गठन पहिला

0

काठमाडौं । निजामती कर्मचारीको बुधबार सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४.३९ प्रतिशत अर्थात् २१ हजार १२७ मत प्राप्त गरी पहिलो भएको जानकारी दिनुभयो ।
यस्तै, नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) ले ३४.१६ प्रतिशत अर्थात् १६ हजार २५९ मत ल्याई दोस्रो, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले १०.५७ प्रतिशत अर्थात् पाँच हजार २९ मत ल्याई तेस्रो र मधेसी दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च ७.४८ प्रतिशत अर्थात् तीन हजार ५६१ मत प्राप्त गरी चौथा भएका छन् ।
कुल मतदाता ५५ हजार ३२९ रहेकामा ८८.७३ अर्थात् ४९ हजार ९५ मतदाताले मतदान गरेको निर्वाचन अधिकृत तिमिल्सिनाले बताउनुभयो । खसेका मतमध्ये एक हजार ५०१ बदर भए ।
पचहत्तर जिल्ला र ४२ विभागका गरी ११७ स्थानका लागि निर्वाचन भएको थियो । ती स्थानमध्ये सङ्गठनले ८०, युनियन (सङ्घ)ले २७, सङ्गठन निजामतीले दुई, मधेसी निजामती कर्मचारी मञ्चले सात स्थानमा विजयी हासिल गरे भने न्याय परिषद्मा सङ्गठन र युनियन (सङ्घ)ले बराबर मत प्राप्त गरेका थिए ।
निर्वाचनमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका निजामती कर्मचारीले मतदान भाग लिएको निर्वाचन समितिका प्रवक्ता सन्तोषकुमार गिरीले जानकारी दिनुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा भाग लिएका थिए ।
निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पद पाउने व्यवस्था भए पनि थ्रेसहोल्डमा खसेको कुल मतको १० प्रतिशत मत ल्याउने व्यवस्था गरिएकाले नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पदाधिकारी नपाउने भएको छ ।
आधिकारिक ट्रेड युनियनको केन्द्रीयस्तरमा १६ सदस्यीय कार्यसमिति र जिल्ला तहमा छ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ । ट्रेड युनियनको कार्यकाल चार वर्षको हुनेछ ।

Leave A Reply

Your email address will not be published.