प्रतिपक्षद्वारा आलोचना र सत्तापक्षद्वारा बचाउ

0

काठमाडौं ।  सरकारले प्रस्तुत गरेको आव २०७३÷७४ को बजेटमाथिको छलफल व्यवस्थापिका–संसद्मा जारी छ । बजेटमाथिको छलफलमा प्रतिपक्ष दलले कार्यान्वयन हुन नसक्ने ठूलो आकारको बजेट ल्याएको भन्दै आलोचना गरेको छ भने सत्तापक्षले त्यसको बचाउ गरिरहेको छ ।
नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले बजेट ल्याए मात्र हुन्छ कार्यान्वयन गर्नु पर्दैन भन्ने मानसिकताबाट बजेट आएको भनी आलोचना गर्नुभयो । बजेट सुन्दा राम्रो लागेपनि तर त्यसको खर्च कसरी जुटाउने भन्नेमा स्पष्टता नदेखिएको उहाँको भनाइ छ । सांसद रत्ना शेरचनले बजेट महात्वकांक्षा, उत्पादनमुखी भन्दा वितरण मुखी, दलीय स्वार्थबाट बढी प्रेरित भएको र युवा उद्यमीलाई समेट्न नसकेको भनी आलोचना गर्नुभयो ।
नेकपा संयुक्तका सांसद जयदेव जोशीले बजेट महात्वकांक्षी भएको र कार्यान्वयन गर्न चुनौती रहेको बताउनुभयो । उहाँले बजेटमा कार्यान्वयन हुन नसक्ने हावादारी कार्यक्रम रहेको जिकिर गर्नुभयो । सांसद श्यामकुमार श्रेष्ठले बजेटमा साधारण खर्च राजस्वबाट धान्न नसकिने अवस्था रहेको बताउँदै बामपन्थी नेतृत्वको सरकार भए पनि बजेटले विदेशी सहायता निर्भरता बढाएको गुनासो गर्र्नभयो ।
नेकपा (माले)का सांसद कसलादेवी महराले यो बजेट जनताको बजेट हो भन्दै जनताको बजेट महत्वाकांक्षा नै हुन्छ र हुनुपर्छ भन्नुभयो । उहाँले बजेट मधेसमैत्री भएको दाबी गर्नुभयो ।
नेपाल जागरण पार्टीका सांसद लोकमणि ढकालले बजेट सकारात्मक र धेरै मेहनत गरेर ल्याएको अनुभूति भएको भन्दै स्वागत गर्नभयो । यो कुनै दल र समुदायको लागि नभइ सबैका लागि भएकाले सबै मिलेर कार्यान्वयनमा लाग्नुपर्ने सुझाव दिनुभयो । सांसद प्रतिक्षा मुखिया तिवारीले बजेटको समर्थन गर्दै द्वन्द्वपीडितलाई दिने राहतका कार्यक्रम अपर्याप्त भएको गुनासो गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.