ऊर्जा क्षेत्रको विकासमा स्वर्णयुगको सुरुआत

0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि स्वर्णयुग सुरु भएको बताउनुभएको छ । ऊर्जा मन्त्रालय, लगानी बोर्ड र इनर्जी डेभलपमेन्ट काउन्सिलले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट,२०१६’(नेपाल ऊर्जा लगानी शिखर सम्मेलन,२०७२)को आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुक विकासको नयाँ चरणमा प्रवेश गरेकाले ऊर्जा क्षेत्रको विकास अनिवार्य सर्त भएको बताउनुभयो ।
नेपाललाई लगानीको केन्द्र बनाउने प्रयास भरहेको उल्लेख गर्दै उहाँले खुला हृदयका साथ लगानी गर्न व्यवसायी एवम् लगानीकर्तालाई आग्रह गर्नुभयो । “नेपालमा गरेको लगानी सुरक्षित छ । ढुक्क भएर लगानी गर्नुस्, सरकार आवश्यक सहयोग गर्न तयार छ । सरकारले ठोस कार्ययोजना अगाडि सारेको छ । ढुक्क भएर लगानी गर्नुस्” प्रधानमन्त्रीले भन्नुभयो ।
नेपालको आन्तरिक आवश्यकतालाई पूरा गर्दै ऊर्जा बिक्री गर्ने लक्ष्यका साथ काम भइरहेको जनाउँदै सरोकार भएका सबै क्षेत्रको सार्थक सहयोगको आवश्यकता जरुरी रहेको प्रधानमन्त्रीको कथन थियो । सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधार गरेको र लगानीमैत्री वातावरण तयार पारेकाले सकारात्मक सन्देश गएको बताउनुभयो । “दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले आवश्यक तयारी गरेको छ, मुलुक लगानीका लागि स्वर्णभूमिका परिणत भएको छ”उहाँले भन्नुभयो ।
लगानी बोर्डका कार्यकारी प्रमुख राधेश पन्तले ५०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजना र ठूला परियोजनालाई बोर्डले सहजीकरण गरिरहेकाले सकारात्मक वातावरण बनेको जिकिर गर्नुभयो ।
बुधबारसम्म चल्ने सो सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने २५ मुलुकका १२५ भन्दा बढी लगानीकर्ताको सहभागिता छ । सम्मेलनमा ऊर्जा क्षेत्रको विकासका लागि अपनाइने विधि, प्रविधि तथा योजनाका बारेमा फरक फरक कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।
सम्मेलनमा अमेरिका, बेलायत, भारत, चीन, चेक , भुटान लगायत मुलुकका सहभागीले नेपालको ऊर्जा क्षेत्रमा लगानीको सम्भाव्यता र अवसरका बारेमा आआफ्ना धारणा राख्ने बताइएको छ ।
सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई उपलब्ध गराइनेछ । सम्मेलनमा सहभागी हुन आउनुभएका विदेशी लगानीकर्ता तथा व्यवसायीलाई विभिन्न जलविद्युत् आयोजना तथा लगानी सम्भाव्यता भएका क्षेत्रको स्थलगत भ्रमण समेत गराइने छ ।
नेपाल भारतबीच विद्युत् व्यापार सम्झौता भइसकेका सन्दर्भमा नेपालमा उत्पादित विद्युत्को सहज पहुँच अन्तर्राष्ट्रिय बजारमा रहेको जनाउँदै सहभागीले सम्मेलन नेपालको ऊर्जा क्षेत्रको विकासका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.