पन्ध्र दिनमा एकपटक धारामा पानी

0

पाल्पा । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको अभाव बढेपछि ट्याङ्करको पानी प्रयोग गर्न बाध्य भएका छन् । खानेपानीको मुहान सुकेपछि तानसेनमा पानीको हाहाकार सिर्जना भएपछि ट्याङ्करबाट पानी किनेर प्रयोग गर्दै आएका हुन् । मुहान सुकेपछि १५ दिनमा एकपटक धारामा खानेपानी आउने गरेको छ । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनवासीले यसवर्ष ट्याङ्करको पानी प्रतिलिटर एक रुपैयाँमा खरिद गर्न बाध्य भएका हुन् ।
सदरमुकाम तानसेन र आसपासका क्षेत्रमा खानेपानीको समस्या बढेपछि पानीे खरिद गरेर नै उपयोग गरेको स्थानीयवासीको भनाइ छ । तानसेनमा दैनिक २५ लाख लिटर खानेपानीको अभाव रहेको छ । तानसेन उपभोक्ता समितिले अहिले पाँच लाख लिटरमात्र आपूर्ति गरिरहेको छ । पानीको जोहो गर्न नसक्दा उपभोक्ता समिति यतिबेला समस्यामा परेको छ । यो वर्ष पानीको मुहान सुकेपछि ग्रामीण भेगमा समेत ट्याङ्करको पानी प्रतिलिटर दुई रुपियाँमा किनेर प्रयोग गरेको बराङ्दीका स्थानीय बासिन्दा सरस्वती बस्यालले बताउनुभयो ।
मुहानमै पानी सुके पनि जडित सबै पम्पबाट पानी आउन सक्ने अवस्था नरहेको र अहिले सातवटा पम्पबाट मात्र पानी आइरहेको तानसेन उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बताउनुभयो ।
खानेपानीको चरम अभाव हुँदा यहाँका सरकारी कार्यालयमा समेत पिउन र शौचालयमा प्रयोग गर्न पानीको अभाव भएको छ । खानेपानीको समस्या बढेपछि तानसेनका गृहणी, विद्यार्थी र कर्मचारीलाई पानीको जोहो गर्न कठिनाइ भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.