सार्वजनिक सवारी साधन ठप्प

0

काठमाडौं । ट्राफिक जरिवाना वृद्धिको विरोध गर्दै यातायात व्यवसायी र मजदुर संगठनले आज यातायात बन्द गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा यातायात व्यवसायी र मजदुर आबद्ध ८ वटा संगठनले यातायात बन्द आव्हान गरेका हुन् । सार्वजनिक गाडी नचलेपछि यात्रुहरु मर्कामा परेका छन् ।
काठमाडौं उपत्यकालगायत देशैभर भाडाका सवारी साधन नचलेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । चक्काजाम आव्हान नगरिए पनि निजी गाडी सन्चालकले पनि आफूहरुको आन्दोलनमा साथ दिएको महासंघका महासचिव सरोज सिटौलाले दावी गर्नुभयो ।
महानगरीय प्रहरी कन्ट्रोल रानीपोखरीले गाडी तोडफोड र सडक अवरोध गर्न खोज्ने १ सय ८९ जनालाई पक्राउ गरिएको जनाएको छ । महानगरीय प्रहरीका अनुसार काठमाडौंबाट १ सय ७३ र ललितपुरबाट १६ जनालाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनकारीले काठमाडौंका विभिन्न ठाउँमा गरी पाँचवटा गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ ।
मुख्य रुपमा ट्राफिक नियम उल्लंघनका लागि गरिने जरिवाना रकम बढाइएकोमा विरोध जनाएको बताए पनि यातायात व्यवसायीहरुले विभिन्न ६ बुँदे माग अघि सारेका छन् । यातायात व्यवसायीको आन्दोलनका कारण समस्यामा परेका यात्रुका लागि नेपाल प्रहरीले दुईवटा रुटमा निशुल्क बस सञ्चालन गरेको छ ।
बा १ ग २५९१ नम्बरको बस नक्साल–पुतलीसडक–कुपण्डोल–पुल्चोक–जावलाखेल–बल्खु–कलंकी–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्कसम्म सञ्चालन भएको छ । यस्तै बा १ ग २४७४ नम्बरको बस नक्साल–मैतीदेवी–गौशाला–कोटेश्वर–तिनकुने–बबरमहल–माईतीघर – त्रिपुरेश्वर – लैनचौर – लाजिम्पाट – नारायणगोपाल चोक–बालुवाटार हुँदै नक्सालसम्म सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.