एनसेलद्वारा अग्रिम कर दाखिला

0

काठमाडौं ।  निजी क्षेत्रको ठूलो दूरसञ्चार प्रदायक कम्पनी एनसेलले सेयर बिक्री गर्दा भएको लाभको १५ प्रतिशत रकम आज दाखिला गरेको छ ।
एनसेलले टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्स् एसले रेनल्ड्स् होल्डिङ्स् लिमिटेड (रेनल्ड्स्) को सेयर बिक्री गर्दा भएको लाभको १५ प्रतिशत रकम दाखिला गरेको हो । एनसेलले ठूला करदाता कार्यालय ललितपुरको निर्देशनपछि रु नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० दाखिला गरेको कार्यालयका प्रमुख शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।
अग्रिम कर दाखिला गर्दै गर्दा सम्पूर्ण कारोबारमा एनसेलको कुनै संलग्नता नरहेको र कारोबारको दौरानमा एनसेलले न त कुनै भुक्तानी दिएको न त प्राप्त गरेको विज्ञप्तिमार्फत एनसेलले स्पष्ट पारेको छ ।
“सेयर बिक्रीको दौरान लाभ भएको छ भने लाभकरको हिसाब गरी त्यसको जानकारी दिने दायित्व सेयर बिक्रेताको रहेता पनि एनसेलले रेनल्ड्स्को पूर्व लगानीकर्ताका तर्फबाट अग्रिम कर दाखिल गर्न कदम चालेको हो”–विज्ञप्तिमा उल्लेख छ ।
एनसेलले आफ्ना एक करोड ३० लाखभन्दा बढी ग्राहक तथा तिनका परिवारको जीवन र जीवनयापनमा बहुआयामिक लाभ प्रदान गर्न थप कटिबद्ध रहेको जनाएको छ । एनसेल आव २०६९÷७० र २०७०÷७१ मा नेपालकै सबैभन्दा ठूलो करदाता कम्पनीका रुपमा रहेको थियो ।

Leave A Reply

Your email address will not be published.