साझाका अध्यक्षको हैसियतमा दीक्षित पक्राउ

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारी संस्थाको अध्यक्षको हैसियतमा मात्रै कनकमणि दीक्षितलाई पक्राउ गरिएको जनाएको छ । पत्रकार पक्राउ गरिएको भन्दै स्वदेश तथा विदेशबाट विभिन्न प्रकारका टीकाटिप्पणी भएपछि आयोगले आज विज्ञप्ति प्रकाशन गर्दै पत्रकार नै भएका कारण दीक्षितलाई पक्राउ गरिएको नभई सरकारी लगानीको कम्पनीमा संलग्न भएको व्यक्तिलाई छानबिनका लागि पक्राउ गरिएको बताएको हो ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करले साझा यातायात सहकारी संस्थामा सरकारको ९५ प्रतिशतभन्दा बढी सेयर रहेको र उहाँ सार्वजनिक ओहदामा बसेको व्यक्ति भएकाले छानबिन गर्नु जायज तथा न्यायोचित रहेको विज्ञप्तिमा उल्लेख गर्नुभएकोे छ । “दीक्षित साझा यातायातका अध्यक्ष हुन्, जुन यातायातको देशभरिमा ९५ प्रतिशत सेयर सरकारको रहेको छ, सार्वजनिक चासोको विषय हो ”, विज्ञप्तिमा भनिएको छ ।
“दीक्षित आफू निर्दोष हुनुहुन्छ भने उहाँले विशेष अदालतमा उपस्थित भएर आफूलाई सफाइ दिन सक्नुहुन्छ, नेपालको कानुन, ऐन नियम तथा प्रावधानलाई सम्मान गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछौँ”–प्रवक्ता पुष्करको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पदको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने जो कोहीलाई आयोगले बाँकी नराख्ने र दीक्षित पत्रकार नै भए पनि कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गरिएको छ । “पत्रकार कानुनभन्दा माथि हुँदैन, सञ्चारमाध्यम राज्यको चौथो अङ्गका रुपमा लिइन्छ, तर संवैधानिक निकायले पत्रकार भएकै कारणले एउटा भ्रष्टाचारको आरोप लागेका व्यक्तिमाथि छानबिन गर्न नपाउने भन्ने हुँदैन”– विज्ञप्तिमा जनाइएको छ ।
आयोगले सम्पत्ति विवरण बुझाउन गरेको पटक पटकको आग्रहलाई अस्वीकार गरेको र चार महिनाभन्दा लामो समयदेखि टेलिफोनद्वारा गरिएको अनुरोधलाई समेत अस्वीकार गरिएकाले स्थानीय प्रहरी प्रशासनको सहयोगमा पक्राउ गरिएको स्पष्ट पारेको छ । विधि, नियमसङ्गत तवरले गरिएको छानबिनलाई गलत तवरले प्रचारप्रसार नगर्न, तोडमोड नगर्न तथा तथ्य नबङ्ग्याउन आग्रह गर्दै आयोगले आफूहरु मानवाधिकारको सम्मान गर्न तयार रहेको जनाएको छ ।
कानुनको सम्मान गर्दै अनुसन्धान प्रक्रियालाई सहयोग गर्न र अदालत मार्फत आफूलाई निर्दोष साबित गर्न दीक्षितलाई उपयुक्त मौका समेत रहेको भन्दै आयोगले अभियुक्त दीक्षितलाई उपचारको सुविधा दिइएको र मानवाधिकारको सम्मानमा पूर्ण प्रतिबद्ध रहेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.