उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य छैन : देउवा

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अध्यक्षतामा गठित उच्चस्तरीय संघीयता कार्यान्वयन समितिको औचित्य नभएको बताएका छन् । स्थानीय शान्ति समिति खोटाङ र सर्वदलीय सम्मिलित प्रतिनिधिमण्डलको आज आफ्नै निवास बुढानिलकण्ठमा ज्ञापनपत्र बुझ्दै सभापति देउवाले सरकारले हालै गठन गरेको संघीयता कार्यान्वयन समितिको औचित्य नभएको बताएका हुन् । उनले सरकारले गठन गरेको समितिबारे आफूलाई जानकारीसमेत नभएको बताए ।
‘समितिबारे मलाई थाहा छैन, हामीले सल्लाह गरेको पनि होइन,’ उनले भने । सभापति देउवाले संविधान कार्यान्वयनका लागि राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्ने बताए । उनले संविधान कार्यान्वयन नहुँदा राजनीतिक स्थायित्व हुन नसकेको भन्दै सबैखाले संक्रमणकालको अन्त्यका लागि संविधान कार्यान्वयन जरुरी रहेकोमा जोड दिए । कुनै एक पार्टीको निर्णयबाट मात्र मुलुकले निकास पाउन नसक्ने भन्दै उनले सबै राजनीतिक दलको सहकार्य आवश्यक रहेको बताए ।
सभापति देउवाले आर्थिक क्षेत्रको विकास बिना मुलुकको विकास सम्भव नहुने भन्दै राजनीतिक स्थायित्वपछि विकासले गति लिने बताए । शान्ति समिति सम्मिलित सर्वदलीय प्रतिनिधिमण्डलले भने खोटाङको विकास निर्माणबारे ध्यानाकर्षण गराउँदै सभापति देउवासमक्ष ८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

Leave A Reply

Your email address will not be published.