संसदीय दलको नेतामा देउवा–पौडेल आमने–सामने

0

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच नै प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले संसदीय दलको नेताका लागि मंगलबार मनोनयन दर्ता गरेका हुन् । मतदान भने बुधबार बिहान ११ बजेदेखि २ बजेसम्मका लागि तोकिएको छ । पार्टी महाधिवेशनको सभापतिमा प्रतिस्पर्धा गरेका सभापति देउवा र वरिष्ठ नेता पौडेल एक महिना पुग्दा–नपुग्दै फेरि अर्को चुनावमा आमने–सामने भएका हुन् ।
सभापतिमा देउवासँग पराजित पौडेलले संसदीय दलको निर्वाचनमा उनैसँग प्रतिस्पर्धा गर्न लागेका हुन् । संसदीय दलको नेता पार्टीले सरकारको नेतृत्व गर्ने अवसर आए प्रधानमन्त्रीको उम्मेदवारसमेत बन्ने व्यवस्था कांग्रेस विधानमा भएकाले पनि दलको नेता सभापति जत्तिकै आकर्षक पद मानिन्छ । फेरि पार्टीभित्रको सन्तुलनमा यो अर्को शक्ति केन्द्र पनि हो ।
पार्टीभित्र भागबन्डाको राजनीति अन्त्यका लागि भन्दै चर्को बहस हुने गरेपनि अहिलेको निर्वाचनले फेरि त्यसैलाई संस्थागत् गर्ने देखिँदैछ । पार्टी एकताको सन्देश दिन सभापति देउवा र पौडेलबीच सहमति बन्नुपर्ने भन्दै केहीले मिलाउने प्रयास गरेपनि सार्थक नभएपछि कांग्रेसभित्र फेरि दुई गूटले निरन्तरता पाउने भएको छ ।
यद्यपि, दलको नेताका लागि मनोनयन दर्ता गरिसकेपछि दुबै नेताले पार्टी एकताका लागि उम्मेदवारी दिइएको दाबी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.