प्रधानमन्त्री ओलीबाट भूकम्प स्मारक र सङ्ग्रहालयको अवलोकन

0

सिचुवान । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिचुवान प्रान्तस्थित छेन्दु सहरमा रहेको भूकम्प स्मारक र सङ्ग्रहालयको अवलोकन गर्नुभयो । सन् २००८ मे १२ मा ७.९ रिक्टर स्केलको भूकम्प गएको केन्द्रविन्दुमा पुगी प्रधानमन्त्री ओलीले भूकम्पबाट मृत्यु भएका नागरिक तथा जनसेवाका जवानप्रति श्रद्धान्जलिस्वरुप पुष्पार्पण गर्नुभयो । सो क्षेत्रमा भूकम्पबाट भग्नावशेष बनेको एक पाँचतले विद्यालयको पनि प्रधानमन्त्रीले अवलोकन गर्नुभयो । सो विद्यालय आठ वर्षपछि पनि उस्तै अवस्थामा पाइएको थियो ।
प्रधानमन्त्री ओलीसहितको भ्रमण दलले भूकम्पको केन्द्रबिन्दुस्थित सङ्ग्रहालयमा रहेका भूकम्पको विनाशसम्बन्धी विवरण, उद्धार र पुनःनिर्माणसम्बन्धी जानकारी लिनुभयो । चीन सरकारको तदारुकताका कारण सो क्षेत्रमा तीन वर्षभित्रै पुनःनिर्माण सम्पन्न भएको स्थानीय अधिकारीले अवगत गराउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले आजै जिपिङपुस्थित ७७० मेगावट क्षमताको जलविद्युत् आयोजनास्थल पुगी त्यहाँको आयोजनाको विकासबारे जानकारी हासिल गर्नुभयो । सो आयोजनाले दश लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउँछ भने दुई करोड ६० लाख नगारिकलाई प्रत्यक्ष लाभ दिइरहेको छ ।
आजै प्रधानमन्त्री ओलीले डुजिगाङस्थित दुर्लभ पान्डा संरक्षण केन्द्रमा पुगी अवलोकन गर्नुभयो । पान्डाको आहारा बाँसका लागि त्यहाँ संरक्षित घना बाँसघारीको पनि टोलीले अवलोकन गरेको छ । प्रधानमन्त्री ओली आइतबार छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.