बेलायती राजकुमार हृयारी काठमाडौंमा

0

काठमाडौं । बेलायती राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ नेपालको औपचारिक पाँचदिने भ्रमणमा शनिबार दिउँसो नेपाल आएका छन् । ह्यारी शनिबार दिउँसो पौने ३ बजे कतार एअरवेजको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसर पारेर बेलायतकी महारानीका प्रतिनिधिकारुपमा राजकुमार ह्यारी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीबीच शनिबारै शिष्टाचार भेटघाट हुने तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने राजकुमार ह्यारीले आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नेछन् । उनी आइतबार नै भूकम्पले क्षति पुर्‍याएका ललितपुर र भक्तपुरका सम्पदाको अवलोकन गर्ने कार्यक्रम छ ।
यसक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार स्क्वायर रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वकास्थलको अवलोकन गरी भूकम्पबाट भएको क्षतिबारे जानकारी लिनेछन् । राजकुमार ह्यारीले नागबहालस्थित ‘गोल्डेन टेम्पल’को अवलोकनसमेत गर्नेछन् । उनले भक्तपुरका भूकम्पपीडितसँग भेट गर्ने कार्यक्रम छ ।
राजकुमार ह्यारीले चैत ८ गते बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन, खौराह नदीमा र्‍याफ्टिङ गर्ने, ९ गते पोखरा भ्रमण गर्ने कार्यक्रम छ । चैत १० गते भने राष्ट्रपति भण्डारी र राजकुमार ह्यारीले काठमाडौंमा आयोजना हुने बालिका सम्मेलनको संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.