काँग्रेस सत्तामा जान लालायित छैनः देउवा

0

काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले काँग्रेस सत्तामा जान लालायित नभएको बताउनुभएको छ । पार्टी सभापतिमा निर्वाचित भएपछि उहाँलाई बधाई दिन नेपाल प्रेस युनियनले उहाँको निवास बुढानीलकण्ठमा आज आयोजना गरेको कार्यक्रममा नेता देउवाले यस पटक काँग्रेस सत्ता बाहिरको रचनात्मक पहरेदारको भूमिकामा बसी मधेसका माग, संविधान कार्यान्वयन, स्थानीय तथा प्रदेशको निर्वाचन लगायतमा कटिबद्ध हुने बताउनुभयो ।
“ म पार्टीलाई एक ढिक्का बनाई अगाडि बढ्ने छु” उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा नेपाली पे्रसको सहयोग र योगदान अपरिहार्य छ भन्नुभयो । अर्काे एक प्रसङ्गमा उहाँले स्वतन्त्र न्यायपालिकामा पूर्वसांसदलाई नियुक्ति गर्न खोज्नु लाजमर्दो भएको टिप्पणी पनि गर्नुभयो ।
कार्यक्रममा युनियनका सभापति बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटीलगायतले अभिव्यक्ति तथा विचार स्वतन्त्रका पक्षधर शक्तिको संरक्षणबाट मात्र लोकतन्त्रको रक्षा हुने बताउनुभयो ।
नवनिर्वाचित समितिको पदभार बुधबार
काँग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण बुधबार हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले साँझ ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिनुभयो ।
नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई समितिले विजयी भएको प्रमाणपत्र दिएपछि सबैले औपचारिक रुपमा आआफ्नो पद सम्हाल्ने छन् ।
काँग्रेसमा नयाँ नेतृत्वका लागि यही फागुन २३ गते भएको निर्वाचनका सबै पदको मतगणना सोमबार साँझ मात्र सम्पन्न भएको थियो । काँग्रेसमा महाधिवेशन अन्तर्गत सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ सदस्यका लागि निर्वाचन भएको थियो ।

Leave A Reply

Your email address will not be published.