कावा सभापतिद्वारा सभापतिलाई बधाई

0

काठमाडौं । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले काँग्रेसको १३औँ महाधिवेशनबाट सभापतिमामा निर्वाचित वरिष्ठ नेता शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । सभापति पदको सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा काँग्रेसका वरिष्ठ नेता देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँले कावा सभापति पौडेललाई पराजित गर्नुभएको थियो । “पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्ति पनि विचलित नभई पार्टी, देश र जनताको पक्षमा तपाईँको कार्यकालको सफलताको कामना गर्दछु”, नेता पौडेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा काँग्रेसको महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने गहन जिम्मेवारी र नेतृत्व आफूलाई प्राप्त भएकामा लोकतान्त्रिक पद्धतिद्वारा नेतृत्वको चयन सहित महाधिवेशन भव्य, सभ्य र निर्बिघ्नतापूर्वक सम्पन्न भई निर्वाचन परिणाम सार्वजनिक भइरहेको उल्लेख छ ।
महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको जनाउँदै उहाँले महाधिवेशनमा संयमका साथ आफूलाई मतदान गर्ने देशभरि र विश्वभरिका प्रतिनिधि साथी एवम् शुभेच्छुकप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुभएको छ । विज्ञप्तिमा कावा सभापति पौडेलले निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबैमा आह्वान गर्दै महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण साथीहरुलाई धन्यवाद दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.