सभापतिमा पौडेल र महामन्त्रीमा कोइरालाको उम्मेदवारी

0

काठमाडौं । नेपाली कांगे्रसको सभापति पदका लागि विहीबार तीनजनाले उम्मेदवार घोषणा गरेका छन् । गिरिजापुत्र सुजता कोइराला, महामन्त्री कृष्ण सिटौला र कार्यवाहक सभापति रामचन्द्र पौडेल सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । नेतृ कोइरालाले एक्लै सभापतिमा लड्ने घोषणा गर्नुभयो भने कार्यवाहक सभापति पौडेलले महामन्त्रीमा शंशाक कोइरालालाई अघि सारेका छन् भने महामन्त्री सिटौलाले चर्चित युवा नेता गगन विष्टलाई महामन्त्रीका रुपमा अघि सारेका छन् ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित घोषणा सभामा हजारौँ कार्यकर्तामाझ दुवै नेताले आ–आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । सभामा कावा सभापति पौडेलले काँग्रेसलाई नयाँ ऊर्जा दिन र पार्टीलाई शुद्धीकरण गर्न उम्मेदवारी दिनुपरेको बताउनुभयो ।
उहाँले संविधानसभाबाट जारी भएको समावेशी संविधान काँग्रेसका अग्रजको सपना हो भन्दै त्यसको सफल कार्यान्वयन र आर्थिक समृद्धि अबको प्रमुख एजेन्डा भएको स्पष्ट गर्नुभयो । प्रजातान्त्रिक समाजवादको दर्शनले मात्र मुलुकको अहिलेको आर्थिक र सामाजिक परिवर्तनलाई उचित व्यवस्थापन गर्न सकिनेमा जोड दिँदै कावा सभापति पौडेलले भन्नुभयो, “राष्ट्रको समस्त रुपान्तरणका लागि मैले नेतृत्व गर्ने अठोट गरेको हुँ ।”
“बिपी पुत्र शशाङ्क र गणेशमान पुत्र प्रकाशमान सिंहलगायतको साथ र सहयोगले मलाई ठूलो बल मिलेको छ र काँग्रेसको मूलधार पनि यही हो” – उहाँले भन्नुभयो । आफूले सबैलाई सँगै लिएर अघि बढ्न भरमग्दुर कोसिस गरेको तर केही साथीमा विचलन आएको बताउँदै उहाँले जुझारु नेता कार्यकर्तालाई पार्टीको महत्वपूर्ण अवसर दिन तयार रहेको अवगत गराउनुभयो ।
दिवङ्गत पार्टी सभापति सुशील कोइरालाको सपनाबमोजिम पार्टीलाई बचाउने वाचा गर्दै उहाँले आफूले दुःखका दिनमा पार्टीमा प्रवेश गरेको र प्रजातन्त्रका लागि कहिल्यै सम्झौता नगरेको जानकारी दिनुभयो । कार्यक्रममा महामन्त्री प्रकाशमान सिंहले काँग्रेस सिद्धान्तमा अडिग पार्टी भएको र यसको निरन्तरताका लागि कावा सभापति पौडेललाई सभापतिमा र शशाङ्कलाई महामन्त्रीमा सबैको सहमतिमा उम्मेदवार प्रस्ताव गरिएको जानकारी गराउनुभयो ।
उहाँले मुलुकमा जहिले पनि परिवर्तनको नेतृत्व काँग्रेसले गरेको बताउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका लागि काँग्रेसको नेतृत्वको खाँचो औँल्याउनुभयो । महामन्त्री सिंहका अनुसार संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा मुलुक र पार्टीलाई पौडेल जस्ता सक्षम र त्यागी नेताको नेतृत्वको आवश्यकता महसुस गरी उक्त निर्णय लिइएको हो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले दुवै उम्मेदवारप्रति समर्थन जनाउँदै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न र पार्टीको सुदृढ नेतृत्वका लागि यो ‘टिम’ नै सफल हुने विश्वास व्यक्त गर्नुभयो । झन्डै ५० वर्षअघिदेखि भद्रगोल जेल रहँदादेखि कावा सभापति पौडेलसँग आफ्नो सम्बन्ध रहेको स्मरण गर्दै नेता महतले पौडेललाई आफूले प्रजातन्त्रप्रति कहिल्यै सम्झौता नगर्ने नेताका रुपमा चिनेको र नेता शशाङ्कसँग नेपालको राजनीतिको पुस्तौँनी विरासत रहेको बताउनुभयो । महामन्त्रीका उम्मेदवार कोइरालाले आफू हजुरबुबा कृष्णप्रसाद कोइरालाको प्रेरणा, बिपी कोइरालाको विचार र सबै काँग्रेस नेता कार्यकर्ताको मार्गदर्शनअनुसार नै अघि बढ्ने उद्घोष गर्नुभयो ।
यता, महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी सिटौला समूहले उम्मेदवारी घोषणा गरेको हो । सिटौला सभापतिको उम्मेदवार हुने समुहबाट महामन्त्रीमा गगन थापाले र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दिनुहुने भएको छ ।
उम्मेदवारी घोषणा कार्यक्रममा तीनवटै पदका उम्मेदवारहरुले पार्टीमा रहेको गुटको अन्त्य गर्न र पार्टीलाई ऊर्जाशील बनाउन आफूहरुको उम्मेदवारी भएको बताउनुभएको थियो । उहाँहरुले आफूहरु कुनै गुटको नभई सबै नेता तथा कार्यकर्ताहरुको भवनाको प्रतिनिधित्व गर्न जुर्मुराएको चर्चा गर्नु भयो ।
सभापतिका उम्मेदवार सिटौलाले शान्तिप्रक्रिया र संविधान निर्माणको काम सकिएकाले अब त्यसको कार्यान्वयनको जिम्मेवारी आफूहरुले पूरा गर्ने बताउनुभयो । उहाँले पार्टीलाई गतिशील, विचारशील र अग्रगामी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्वको आवश्यकता भएकाले आफूले नेतृत्व लिन तम्सिएको स्पष्ट पार्नुभयो ।
महामन्त्रीका उम्मेदवार थापाले आफ्नो नसामा विपीको रगत नभई विचार बगेको बताउनुभयो । उहाँले भन्नु भयो“पार्टी रगतले होइन विचारले चलाउने हो त्यसैले मेरो नसा नसामा विपीको विचार बगेकाले विपीको विचारअनुसार नै पार्टीलाई चलाउने अठोट गरेको छु ।”
कोषाध्यक्षका उम्मेदवार चौधरीले पार्टीभित्रको भागबण्डको अन्त्यका लागि आफूहरुले उम्मेदवारी दिएको बताउनुभयो । पार्टी चलाउने विराशतले होइन विचारले हो भन्दै नेता चौधरीले विचारशील नेता तथा कार्यकर्ताले आफूहरुलाई उत्साहित पारेको बताउनुभयो । कार्यक्रममा केही केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधि तथा नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.